राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई आगामी कार्यकालका लागि गभर्नर नियुक्त गरेको हो।

निवर्तमान गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिएपछि फागुन ५ गतेदेखि केन्द्रीय बैंकमा गभर्नर खाली थियो।

अधिकारी अहिले लगानी बोर्डको सिइओ छन्। उनलाई प्रधानमन्त्री ओलीले नै पहिलो कार्यकालमा नियुक्त गरेका थिए। अधिकारीको लामो करियर नेपाल राष्ट्र बैंकमा नै हो।

अधिकृतको रूपमा केन्द्रीय बैंकमा छिरेका अधिकारी डेपुटी गभर्नरको रूपमा रहँदा अवकाश पाएका थिए।

हालका अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा अधिकारी वरिष्ठ डेपुटी गभर्नर थिए। अधिकारीलाई गभर्नरको रूपमा अर्थमन्त्री खतिवडाले लैजान चाहेका थिए।

यसअघि गभर्नर नियुक्तिका लागि अर्थमन्त्री डा युवजाराज खतिवडाको संयोजकत्वमा गठित समितिले तीन जनाको नाम सिफारिस गरेको हो।

पूर्व सचिव कृष्णहरि बाँस्कोटा र पूर्व गभर्नर विजयनाथ भट्टराई सदस्य रहेको उक्त समितिले हाल नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर रहेका चिन्तामणी शिवाकोटी, महाप्रसाद अधिकारी र निवर्तमान अर्थसचिव राजन खनालको नाम सिफारिस गरेको थियो।

त्यसमध्येबाट अधिकारीलाई सरकारले पाँच वर्षका लागि गभर्नर नियुक्त गर्ने निर्णय गरेको छ। अधिकारी यसअघि पनि गभर्नरका लागि सिफारिसमा परेका थिए।

प्रतिक्रिया