कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व प्रसिद्ध दक्षिण अफ्रिकी वैज्ञानिक गिता रामजीको मृत्यु भएको छ ।
उनले आफ्नो जीवन महिलालाई एचआईभी संक्रमणबाट बचाउने उपायको खोजीमा समर्पण गर्दै आएकी थिइन् । हालैमात्र बेलायतको यात्राबाट फर्किएकै रामजी दक्षिण अफ्रिका आएपछि निमोनियाको समस्या देखिएपछि क्वाजुलु–नाटाल प्रान्तमा रहेको अस्पतालमा भर्ना भएकी थिइन् ।
एचआईभी संक्रमित हुनबाट रोक्ने उपाय खोजिरहेकी उनले क्षयरोग रोकथामका लागि समेत काम गर्दै आएकी थिइन् । सोही कारण उनी विश्वभरी नै प्रसिद्ध थिइन् ।
दक्षिण अफ्रिका विश्वमै सबैभन्दा बढी एचआईभी संक्रमित रहेको देश हो । कोरोना भाइरस संक्रमणका कारण यतिबेला दक्षिण अफ्रिका तीन साताका लागि लकडाउन गरिएको छ ।
दक्षिण अफ्रिकाका उपराष्ट्रपति डेभिड माबुजाले रामजीको निधनले विश्वकै स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुगेको र एचआईभीविरुद्धको लडाईमा पनि अतुलनीय क्षति भएको बताएका छन् ।