कोरोना भाईरस (कोभिड—१९) को कारण एक बर्ष पछि सारिएको टोकियो ओलम्पिकको नयाँ मिति तय भएको छ । विश्व खेलकुदको महाकुम्भ ओलम्पिक गेम्स सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ तारिखसम्म हुनेछ । आयोजक जापानले तय गरेको नयाँ मितिलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले सहमति दिएको हो ।
यसअघि टोकियो ओलम्पिक आगामी जुलाई २४ देखि अगस्ट ९ तारिखका लागि तय भएको थियो । ओलम्पिकसँगै एकबर्ष पछि सरेको पारा ओलम्पिक गेम्स भने सन् २०२१ को अगस्ट २४ देखि सेप्टेम्बर ५ तारिखसम्म हुनेछ ।
महामारीको रुपमा विश्वभर फैलिएको कोरोनाका कारण ओलम्पिक रोक्न अधिकांश देशले माग गरेपछि जापान सरकार र आईओसी ओलम्पिक एक बर्ष पछि सार्न सहमत भएका थिए । ओलम्पिक टच टोकियो शहर पुगिसकेका कारण ओलम्पिक सरेपनि नाम भने टोकियो ओलम्पिक नै रहने छ ।