उपत्यकासहित देशभर प्रदूषण ह्वात्तै घट्यो, अधिकांश भाग ‘ग्रिन जोन’मा

गत मंगलवारदेखि देश लकडाउनमा गएसँगै उपत्यकासहित देशभरको प्रदूषण मात्रा ह्वात्तै घटेको छ । प्रदूषणको ‘रेड जोन’मा रहने काठमाडौं उपत्यका ‘ग्रिन जोन’मा पर्न थालेको छ ।

प्रदूषण मापन केन्द्रकाे तथ्यांकअनुसार दमक, धनकुटा, सिमरा र सुर्खेतबाहेक देशभर वायु प्रदूषण कम भई विस्तारै एल्लो हुँदै ग्रिन जोन कायम हुन थालेका छन् । शुक्रवार साँझसम्मको तथ्यांकमा सिमरा मात्र वायु प्रदूषणको रेड जोनमा देखिएको छ ।

शुक्रबार रत्नपार्कआसपासको प्रदूषण सरकारले तोकेको मापदण्डभन्दा पनि तल झरेको छ ।

वायुमण्डलमा धुलोकाे कण पीएमको मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर भन्दा उच्च भए मात्र वायु प्रदूषण मानिन्छ । तर, रत्नपार्कमा भने ३२. ८ माइक्रोग्राम प्रतिघनमिटर मात्र देखिएको छ ।

यो भनेको सरकारले तोकेको मापदण्डभन्दा कम हो । काठमाडौंमा रहेका वायु प्रदूषण मापन यन्त्रमध्ये सबैमा प्रदूषण मात्र घटेको देखिएको छ ।

रत्नपार्क, शंखमुल, भैँसेपाटी, सातदोबाटोलगायतका क्षेत्र मात्र होइन, भक्तपुर र धुलिखेलमा समेत प्रदूषणको मात्रा उल्लेख्य घटेको छ ।

प्रतिक्रिया