कतै आइपीओमा आवेदनको ओइरो कतै नपरेर चिन्ता,स्थानीयले किन गरे बेवास्ता ?

काठमाडौं - सर्वसाधारण को लागि सार्वजनिक गरिएको आइपीओमा अत्याधिक आवेदन परिरहेको बेला स्थानिय जनताको लागि सार्वजनिक गरिएको प्राथमिक शेयरमा भने खासै चासो नरहेको देखिएको छ । 

आयोजना प्रभावित क्षेत्रको लागि कम्पनीले पहिला शेयर निष्कासन गर्ने गरेको छ तर यसमा खासै आवेदन नपरेको देखिन्छ । अहिले २ कम्पनीले स्थानीयको लागि आइपीओ निष्कासन गरेका छन् । 

बलेफी हाइड्रो पावर र ग्रीन भेन्चर्सले  प्रभावितका लागि भन्दै साधारण शेयर जारी गरेका छन्। उनीहरूको निष्काशनमा १० देखि १२ प्रतिशतको हाराहारीमा मात्रै आवेदन परेको छ। बलेफी हाइड्रो पावर कम्पनीले प्रभावित क्षेत्रका स्थानीयलाई गत माघ २७ गते देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको हो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १८ लाख २७ हजार ९७० कित्ता कुल शेयरमध्ये ६० प्रतिशत हुन आउने १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं. २, ३, ४ का बासिन्दाहरूका लागि र बाँकी ४० प्रतिशत हुन आउने ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं. १, ३, ६ तथा ७ र सुनकोसी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाहरूका लागि निष्कासन गरेको हो। जसको निष्कासन बन्द मिति फागुन १२ गते छ। यसकाे  तोकिएको मितिमा सबै बिक्री हुने स्थिति छैन। किनकि  सोमबारसम्म कम्पनीको निष्कासनमा जम्मा  १२.४४ प्रतिशतले मात्रै आवेदन परेको केन्द्रीय निक्षेप प्रणाली (सीडिएससि)ले जनाएको छ। उसले १० लाख ९६ हजार ७८२ कित्ता निष्कासन गरेकोमा सोमबारसम्म एक लाख ३६ हजार ४६० कित्ताको लागि मात्रै आवेदन परेको छ। याे माग गरिए कित्ताको आधारमा १२.४४ प्रतिशत मात्रै हो। माग गरिएको भन्दा ८७.५५ प्रतिशत कम आवेदन परेको कारण कम्पनीले समय थप गर्नु पर्ने छ। समय थप भएपछि बन्द हुने मिति ढिलोमा फागुन २७ गते पुग्ने छ। 

उता ग्रिन भेन्चर्सको निष्कासनको हालत पनि उस्तै छ। उसले निष्कासन गरेको शेयरमा पनि आवेदनकर्ता असाध्यै न्यून छन्। कम्पनीले गत फागुन २ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गा जिल्ला स्थित खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९,रामेछापको लिखु तामाकोसी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरूका लागि आइपिओ निष्कासन गरेको हो। उसको निष्कासन फागुन १६ गते बन्द हुने छ। निष्कासन बन्द हुन एक साता मात्रै वाँकी छ। तर सोमबार सम्मको आवेदन हेर्दा उसले पनि समय थप गर्नु पर्ने देखिन्छ। किनकि ३१ लाख ५० हजार कित्ता निष्कासन गरिएकोमा सोमबारसम्म तीन लाख ४१ हजार ८८० कित्ताको लागि मात्रै आवेदन परेको छ। जुन माग अनुसार १०.९४ प्रतिशत मात्रै हो। उसले पनि माग भन्दा निक्कै कम आवेदन परेपछि चैत १ गते सम्म समय थप गर्नु पर्ने छ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय