लकडाउन कार्यान्वयनमा कठोर बन्दै प्रहरी, अवज्ञा गरे तत्काल पक्राउ गर्न विशेष टोली परिचालन

कोरोना संक्रमण रोकथाम नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन पूर्ण रूपमा कार्यान्वयन गर्न प्रहरीले थप कडाइ सुरु गरेको छ ।

लकडाउन घोषणाको चौथो दिन शुक्रबार पनि अत्यावश्यकबाहेकका मानिसको आवतजावत भित्री तथा मुख्य सडकमा समेत नरोकिएपछि प्रहरीले लकडाउनलाई कडाइ गर्ने नीति अख्तियार गरेको जनाएको छ ।

सरकारले गत मंगलबारदेखि लागू हुने गरी एक हप्ताका लागि लकडाउनको घोषणा गरेसँगै प्रहरीले सुरुवाती दिनमा सडकमा निस्कनेहरूलाई सम्झाइबुझाई आवतजावत गर्न रोकेको थियो ।

तर, शुक्रबारदेखि प्रहरीले लकडाउनलाई कडा पार्न अत्यावश्यकबाहेक घरबाहिर निस्कनेलाई प्रक्राउ गरी कानुनी कारबाही सुरु गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले लकडाउन अवज्ञा गर्नेविरुद्ध कडा कारबाही सुरु गरेको जानकारी दिए ।

‘लकडाउन पूर्ण रूपमा कार्यान्वयनका लागि विशेष टोली नै परिचालन गरिएको छ, मुख्य सडक तथा भित्री गल्लीमा समेत बाहिर निस्के तत्काल पक्राउ गर्न आदेश दिइएको छ,’ प्रवक्ता बोगटीले भने ।

महानगरीय प्रहरी परिसर काठमाडौंले अत्यावश्यकबाहेक बाहिर निस्कनेलाई पक्राउ गर्न बन्दोबस्ती (गाडीमै हिरासत कक्ष रहेको) भ्यानसँगै सिआरभी, क्विक रेस्पोन्स भेहिकलसहितको प्रहरी टोली परिचालन गरिएको जनाएको छ ।

परिसरमातहतका १४ वटै वृत्तको टोली परिचालन गरिएको र थप मद्दतका लागि हेटक्वार्टरबाटसमेत प्रहरी टोली मगाइएको महानगरीय प्रहरी परिसर काठमाडाैंले जनाएको छ ।

परिसरले मातहतका क्षेत्रमा लकडाउन कडाइ साथ पालना गराउन तत्कालका लागि दुईवटा टोली परिचालन गरेको जनाएको छ ।

प्रहरी निरीक्षकको कमाण्डमा रहेको १५ जनाको प्रहरी टोली कलंकी, बालाजु, कालिमाटी, बसपार्क, सामाखुसी, बसुन्धरा क्षेत्रमा परिचालन गरिएको छ । त्यस्तै, अर्को १५ जनाको प्रहरी टोली चाबहिल, बौद्ध महाराजगन्ज, बानेश्वर क्षेत्रमा परिचालन गरिएको छ ।

प्रतिक्रिया