टोकियो, ११ चैत । जापानमा यसै वर्षको जुलाईमा हुने भनिएको गृष्मकालीन ओलम्पिक एक वर्षका लागि सारिएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ को प्रभावका कारण जापान पनि अछुतो छैन भने विश्वका अधिकांश देश पनि खेलकुदको वातावरण बन्द गरेर कोरोना भाइरसविरुद्ध संघर्षरत छन् ।
पूर्व निर्धारित समय जुलाई २४ देखि अगस्ट ९ सम्म नै आयोजना गर्ने अडानमा आयोजक जापान र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसी रहेपनि आज जापानको टोकियोमा बसेको विशेष वैठकले ओलम्पिक एक बर्षका लागि सार्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण फैलन थालेदेखि नै जापान र आईओसीमाथि ओलम्पिक सार्न चर्को दबाब बढेको थियो ।
जापानका प्रधानमन्त्री सिन्जी अबेको विशेष प्रस्तावमा यो निर्णय लिइएको हो । तर जापानले अर्को बर्ष गरिने ओलम्पिक चाँडै गरिने भन्दै यस्को लागि मिति र तालिका तोक्न आइओसीसँग माग गरेको छ ।
कोरोनाको संक्रमण बढेसंगै अन्योलमा परेको ओलम्पिक अन्ततः अर्को बर्ष गर्ने घोषणा गर्दै यसबर्षका लागि स्थगित गरिएको छ ।
यद्धपि अन्योलका बीच ओलम्पिक टर्च भने जापान पुगेको छ । ओलम्पिकको उद्गम मुलुक ग्रीसबाट ओलम्पिक टर्च शुक्रबार जापान र्पुयाइएको थियो ।
ओलम्पिक टर्च हेर्नका लागि नै कोरोना भाइरसको भयलाई भूलेर हजारौ जापानी नागरिक सडकमा उत्रिएका थिए ।