कांग्रेस अब पत्तासाफ हुन्छ - ओली

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सीमित हुने गरी चुनावी अभियानमा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् । 


पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकहरूले काँग्रेसलाई भोट नहाल्ने दाबी गरे । काँग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरूले चेताइसकेको हुनाले युवाहरूले पनि ती पार्टीहरूलाई मत नदिने उनको तर्क थियो ।

अध्यक्ष ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरूले जोगाई दिएको र माधव नेपालहरू अबको निर्वाचन पछि समाप्त हुने बताए । उनले भने, ‘एमालेलाई चौंथो पार्टी बनाउँछु भन्छ कोही । अहिले चौथो पार्टी हो एमाले संसदमा ? संसदमा एमालेसँग ९८ सिट छ।


अरूको धेरै भएकाको पनि ६१ सिट छ । कोही हामीले बनाइदिएको ४८ सिटा लिएर हामीले टाँसी दिएको जुँगामा ताउ लाउँछ । त्यसकारण म साथीहरूलाई भन्न चाहन्छु–यो गठबन्धन केही होइन ।

बुढो काँग्रेस पाँच वर्ष अघि २३ सिटमा झरेको होइन ? काँग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ अहिले, लाग्नुस् तपाईंहरु । बुढाबुढी, ज्येष्ठ नागरिकहरूले साठी वर्ष माथिका ज्येष्ठ नागरिकहरूले काँग्रेसलाई भोट हाल्दैनन् । अनि युवाहरू काँग्रेस, माओवादीबाट चेतिसकेका छन् । उनीहरूले पनि काँग्रेसलाई भोट हाल्दैनन् ।


अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयी हासिल गर्नुपर्ने भएकाले उत्साहका साथ जनताको बीचमा जान पनि पार्टीका नेता, कार्यकर्तालाई पटकपटक सचेत गराए । उनले सत्तारुढ दलहरूको निदहराम हुने गरी स्थानीय तह निर्वाचनको तयारीमा आफ्नो पार्टी लागिपर्ने बताए ।

सत्तारुढ गठबन्धन केही नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणामले उनीहरूलाई भोक हराम, निदहराम बनाउनुपर्ने बताए । 

प्रतिक्रिया