पोखरा । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने सबै चिनियाँ कामदार कोरोना संक्रमण मुक्त रहेको विमानस्थल आयोजनाले जनाएकव् छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै विमानस्थल आयोजनाले सबै चिनियाँ कामदार कोरोना भाइरस संक्रमण मुक्त रहेको बताएको हाे ।
विमानस्थल आयोजनाले फेब्रुअरी महिनापछि काममा आएका १ सय ७ कर्मचारी र कामदारहरु १४ दिनसम्म चीनकै क्वारेन्टाइनमा बसेको जनाएको छ । कोरोना संक्रमण नभएको सर्टिफिकेट लिएर मात्रै उनीहरु नेपाल प्रवेश गरेको विमानस्थल आयोजनाले जनाएको छ ।
विमानस्थल आयोजनासँग जोडेर कोरोना भाइरसबारे भ्रामक प्रचार भएको भन्दै आयोजनाले आपत्ति पनि जनाएको छ । विश्व स्वास्थ्य संगठन र जिल्ला प्रशासन कार्यालय कास्की लगायतका निकायसँग निरन्तर सम्पर्क गरि उच्च सतर्कता अपनाइएको आयोजनाले जनाएको छ । भ्रामक सूचनाको पछि नलाग्न समेत विमानस्थल आयोजनाले आग्रह गरेको छ ।