सरकारले वैदेशिक रोजगारीका लागि कतार जानेहरूका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । श्रम कार्यालय ताहाचलले मंगलबार एक विज्ञप्ति जारी गर्दै कतारका लागि श्रम स्वीकृति बन्द गरेको जानकारी दिएको छ ।
कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि कतार प्रवेशमा रोक लगाएसँगै श्रम स्वीकृति दिन बन्द गरिएको कार्यलयको विज्ञप्तिमा उल्लेख छ । कतारले अर्को व्यवस्था नभएसम्मका लागि कतार प्रवेशमा रोक लगाएसँगै श्रम स्वीकृति दिन बन्द गरिएको श्रम कार्यालय ताहचलका प्रमुख उमेश बस्नेतले जानकारी दिए ।
नेपालस्थित कतार भिसा सेन्टरको सेवा पनि मंगलबारबाट बन्द भएको छ । वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षणलगायत भिसा प्रक्रियाको काम गर्दै आएको भिसा सेन्टरले अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको भिसा सेन्टरका प्रमुख कार्यकारी अधिकृत गौरव क्षत्रीले बताएका छन् ।
गत १५ जेठदेखि राजधानीको महाराजगञ्जस्थित चक्रपथमा भिसा सेन्टर सञ्चालनमा आएको थियो ।