काठमाडौं - व्यापक समस्या जस्तै रहेको तरलता अभाव अब भने सामान्य हुने तर्फ गएको देखिएको छ ।
तीन दिनमा बैंकिङ च्यानलमा थप ७ अर्ब रुपैयाँ तरलता (लगानी योग्य पुँजी) थपिएको छ । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार गत फागुन २७ गतेदेखि ३० गतेसम्म (तीन दिन) मा २७ वटा वाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले बढेर ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको हो । अघिल्लो हप्ता अर्थात् फागुन २० गतेदेखि २७ गतेसम्ममा यस्तो निक्षेप बैंकहरुले जम्मा २ अर्ब रुपैयाँले मात्रै बढाउँदै कुल ४३ खर्ब २६ अर्ब रुपैयाँ संकलन गरेका थिए ।
यस्तै, समीक्षा अवधिमा बैंकहरुले कर्जा लगानी समेत ३ अर्बले वृद्धि गर्दै कुल ४१ खर्ब ७२ अर्ब रुपैयाँ लगानी गरेको संघले जनाएको छ । तर, अघिल्लो हप्ता अर्थात् फागुन २० गतेदेखि २७ गतेसम्ममा बैंकहरुले एक अर्ब रुपैयाँले कर्जा घटाउँदै कुल ४१ खर्ब ६९ अर्ब रुपैयाँ मात्र लगानी गरेका थिए । पछिल्लो समय बैंकमा निक्षेप बढ्न थालेपछि बैंकहरुले लगानी बढाउन थालेका हुन् । क्रमिक रुपमा निक्षेप बढ्न थालेपछि मुलुकमा विस्तारै लगानीको वातावरण बन्दै गएको देखिएको छ ।