काठमाडौं - नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंकहरुमा देखिएको तरलता अभाव घटाउनको लागि बिहीबार अर्थात् आज देखि 20 अर्बको रिपो जारी गर्दैछ।
नेपालका बैंकहरुमा पछिल्लो समय ऋण निकाल्नको लागि तरलता अभाव भएको खबरहरु आइरहेका छन् । जसले गर्दा ऋण लगानीमा समेत असर परिरहेको छ ।
बैंकहरुमा देखिएको तरलता अभावलाई टार्न भाेलि बिहीबार केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई जारी गर्ने भएको हो ।
रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो २ बजेसम्म बिडिङ गर्नुपर्नेछ । याे रिपाे मंसिर ९ गते परिपक्क हुनेछ ।
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयअनुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने प्रक्रिया 'रिपो' हो ।
यस उपकरणको निष्कासनको दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको ने.रा.बैंकमा रहेको खातामा राष्ट्र बैंकले बाँडफाँटअनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।