देशभर आंशिक बदली हुँदै मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बुधवार देशभर आंशिकदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले बदलीसँगै वर्षा भइरहेको मौसमविद् समीर श्रेष्ठले बताए । ‘उक्त वायुको प्रभाव भोलिबाट विस्तारै कम हुँदै जाने छ,’ उनले भने । उपत्यकामा बुधवार दिउँसो मौसम खुले पनि साँझपख वर्षा हुने बताइएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका मध्य र पूर्वका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

बिहीवार देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । शुक्रवार देशको पहाडी भेगमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ७ र अधिकतम तापक्रम २२ दशमलव ० डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया