अर्थमन्त्रीको राजीनामा माग्दै आन्दोलन 

काठमाण्डौ । विराटनगरका उद्योगी–व्यवसायीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । सरकारले स्टिलजन्य वस्तु र स्यानेटरी प्याडसँग सम्बन्धित आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् ।

उक्त प्रदर्शनमा मजदूर तथा ट्रेड युनियनहरुको समेत साथ रहेको छ । उद्योग संगठन मोरङले नेतृत्व गरेको उक्त प्रदर्शनमा अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै नाराबाजी गरिएको छ ।

सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा भएको उक्त विरोध प्रदर्शनमा सरकारले कर लिएर पनि व्यवसायी र मजदुर मार्ने नीति अपनाएको भन्दै आरोप लगाए । सरकारले आर्थिक वर्ष २०७९–०८० को बजेटमार्फत जिआई वायर, वनस्पति घिउ र स्यानिटरी प्याड लगायत उद्योगका लागि त्रुटिपूर्ण व्यवस्था गरेको भन्दै उनीहरुले स्वदेशी उद्योगहरु मर्कामा पर्ने बताएका छन् । एकातिर स्वदेशी उद्योगलाई संरक्षण गर्ने भनेर अर्थमन्त्रीले नै भन्ने गरेको तर अर्कातिर उक्त वस्तु आयातमा भन्सार कटौती गरेर दोहोरो चरित्र देखाएको उनीहरुको आरोप छ ।

यसअघि तीनवटा उद्योगी व्यवसायीका संगठन र चारवटा मजदुर संगठनले अर्थ मन्त्रालयमा पत्र पठाएर उक्त व्यवस्थामाथि हेरफेर गर्न बुधबारसम्मको अल्टिमेटम दिएका थिए । तर सरकारको आफूहरुका माग सम्बोधन नगरेकोले दोस्रो चरणको आन्दोलनमा उत्रनुपरेको प्रर्दशनकारीहरुको भनाइ छ ।

प्रतिक्रिया