स्कटल्यान्डसँगको रोमाञ्चक खेलमा नेपाल दुई रनले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित भएको छ। स्कटल्यान्डको फोर्थहिल मैदानमा भएको खेलमा ३२४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ३२१ रनमै अलआउट भयो। नेपालका लागि भीम सार्कीले ७३, सोमपाल कामीले ६७ र दीपेन्द्रसिंह ऐरीले ५६ रन बनाए। स्कटल्यान्डका बलर म्याकेन्जी जोन्सले तीन विकेट लिए भने सफियान शरीफ र माइकल लीस्कले दुई-दुई तथा ब्रान्डन म्याकमुलेन र चार्ली क्यासलले एक-एक विकेट लिए।

टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन बनाएको थियो। कप्तान रिची बेरिङ्टनले १०२ रनको शतकीय पारी खेले भने माइकल लीस्कले ९६ र चार्ली टियरले ६८ रन बनाए। नेपालका करन केसी र दीपेन्द्रसिंह ऐरीले दुई-दुई तथा ललित राजवंशीले एक विकेट लिए।

यस जीतपछि स्कटल्यान्ड १९ खेलमा २४ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा पुगेको छ। नेपाल भने १५ खेलमा १० अंकसहित सातौं स्थानमा यथावत् छ। लिग–२ मा अमेरिका शीर्ष स्थानमा रहेको छ। यस त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी छन्।

नेपालले यसअघि पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो। लिग–२ को चौथो तथा अन्तिम खेलमा नेपालले भोलि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। लिग–२ को शीर्ष चार टोली विश्वकप ग्लोबल छनोटमा सिधा प्रवेश गर्नेछन् भने पुछारमा रहने चार टोलीले छनोट प्लेअफ खेल्नुपर्नेछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय