फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ मा पूर्व विजेता जर्मनीले शानदार सुरुवात गरेको छ भने समूह ‘एफ’ मा एशियाली शक्ति जापानले युरोपेली बलियो टोली नेदरल्यान्ड्सलाई बराबरीमा रोक्दै प्रभावशाली प्रदर्शन गरेको छ।
विश्वकपमा पहिलोपटक सहभागी भएको कुरासाओविरुद्ध जर्मनीले ७–१ को फराकिलो जित हात पार्दै प्रतियोगितामा सुखद सुरुवात गर्यो। जर्मनीले पहिलो हाफमै तीन गोल गर्दै खेलमा पकड बनाएको थियो भने दोस्रो हाफमा थप चार गोल गर्दै सहज जित सुनिश्चित गर्यो। जर्मनीका लागि काई हाभार्ट्जले दुई गोल गर्दा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन र डेनिज उन्डाभले समान एक–एक गोल गरे। कप्तान जोसुआ किम्मिचले दुई गोलमा असिस्ट प्रदान गरे। कुरासाओले केही अवसर सिर्जना गरे पनि जर्मनीको बलियो रक्षापंक्तिलाई भेद्न सकेन।
यता समूह ‘एफ’ अन्तर्गत अमेरिकी राज्य टेक्ससको डल्लास रंगशालामा भएको खेलमा जापानले दुई पटक पछि परेको अवस्था उल्टाउँदै नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ भने निकै प्रतिस्पर्धात्मक रह्यो। खेलको ५१औँ मिनेटमा कप्तान भर्जिल भान डाइकले हेडमार्फत गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए। तर त्यसको छ मिनेटपछि नै केइतो नाकामुराले उत्कृष्ट गोल गर्दै जापानलाई खेलमा फर्काए।
त्यसपछि ६४औँ मिनेटमा क्रिसेन्सियो सम्मेरभिलले आकर्षक गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः २–१ को अग्रता दिलाए। उनको अन्तर्राष्ट्रिय करियरको यो पहिलो गोल समेत थियो। खेल जिततर्फ उन्मुख देखिएको नेदरल्यान्ड्सलाई अन्तिम समयमा जापानले झट्का दियो। खेलको ८९औँ मिनेटमा दाइची कामादाले कर्नरबाट आएको बललाई हेडमार्फत जाली चुमाउँदै जापानलाई महत्वपूर्ण बराबरी दिलाए।
यस नतिजासँगै जापान र नेदरल्यान्ड्सले समान एक–एक अंक बाँडेका छन्। साथै विश्वकप इतिहासमा दुई पटक अग्रता लिएर पनि जित सुरक्षित गर्न नसकेको नेदरल्यान्ड्सको यो पहिलो खेल बनेको छ।