काठमाडौं - केन्द्रीय बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता घटाउन १ खर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेपछि, बैंकहरुले दोब्बर रकम अर्थात् १ खर्ब ९६ अर्ब रुपैयाँको आवेदन दिएका छन्।
२१ दिन अवधिको लागि जारी गरिएको यस उपकरणमा बैंकहरुले २.८० प्रतिशतदेखि २.९७ प्रतिशतसम्मको ब्याजदर तोकेका छन्, जसको भारीत औसत ब्याजदर २.८८ प्रतिशत रहेको छ।
हाल बैंक तथा वित्तीय संस्थाहरूसँग ७ खर्ब भन्दा बढीको लगानीयोग्य रकम रहेको छ। कर्जामा लगानी गर्न नसकिएको रकमलाई कम ब्याजदरमा भए पनि राष्ट्र बैंकमा राखेर कोषको लागत घटाउने प्रयास बैंकहरुले गरिरहेका छन्।
यसै कारण, बैंकहरुले मुद्दती निक्षेपमा ६ प्रतिशत भन्दा धेरै ब्याज तिरेर संकलित पैसा पनि राष्ट्र बैंकमा राख्न इच्छुक देखिएका छन्।नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा समेत उपलब्ध गराएको छ, जसअन्तर्गत बैंकहरुले एक साताको लागि ३ प्रतिशत ब्याजदरमा आफ्नो अतिरिक्त रकम राख्न सक्छन्। तर, ३ साताको लागि निक्षेप राख्न पाउने भएपछि, बैंक तथा वित्तीय संस्थाहरुको आवेदन संख्यामा उल्लेख्य वृद्धि भएको छ।