काठमाडाैँ, १० पुष । गायक रामकृष्ण ढकालले पत्नी निलम शाहसँगकाे सम्बन्धबारे मिडियामा आएका खबर भ्रामक रहेकाे भन्दै खण्डन गरेका छन् । जबकि जिल्ला अदालत काठमाडाैँमा उनकी पत्नी निलमले सम्बन्ध विच्छेदकाे मुद्दा दायर गरेकाे र त्यसकाे फैसला समेत भएकाे पुष्टि भइसकेकाे छ ।
बुधबार मात्रै जिल्ला अदालत काठमाडाैँका न्यायाधीश विदुर कोइरालाकाे एकल इजलासले उनीहरुको मुद्दामा फैसला दिइसकेको छ, जसमा मिलापत्र भनिएकाे थियाे । मुद्दा अघिल्लाे दिन मंगलबार दर्ता भएकाे थियाे ।
तर रामकृष्णले बिहीबार एक स्टाटस लेख्दै आफूहरू पहिलाझैँ हाँसीखुसी रहेकाे र सम्बन्धमा कुनै चिसाेपना नरहेकाे बताएका छन् । उनले सम्बन्धविच्छेदलाइ लिएर विभिन्न मिडियामा आएका समाचारहरू ‘कपोलकल्पित, भ्रामक’ र परिवारकाे आत्मसम्मानविपरीत रहेकाे आराेप पनि लगाएका छन् ।
‘पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन्,’ उनले भनेका छन्, ‘त्यसैले समाचारलाई विश्वास गरी मेरो परिवारप्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु ।’
हेर्नुहाेस् उनकाे भनाइ जस्ताकाे तस्तै-
मैले आफुले आफ्नो बोध भएदेखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन।
जीवनको यो लामो अन्तरालमा मैले कति दर्शक/श्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसम्शक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु।
पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु। विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।
सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ-आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन। व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो।
यसर्थ म प्रती चासो देखाउनु हुने मेरा सम्पुर्ण दर्शक / श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शक/ श्रोताका कारण छु तर नेपाली गित संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन् । हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।
आशा छ तपाईहरुको माया रहिरहने छ।
सबैको दिन शुभ रहोस!