पेट्रोल २०, डिजेल ३० र एलपी ग्यास १०० रुपैयाँले घट्यो मूल्य

काठमाडौं — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। निगमका अनुसार नयाँ मूल्य असार १७ गते राति १२:०१ बजेदेखि लागू हुनेछ।

नयाँ निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर घट्दै गएपछि नयाँ मूल्य समायोजन गरिएको जनाएको छ। इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त पछिल्लो खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन २९ रुपैयाँ ४२ पैसा र एलपी ग्यासको खरिद मूल्य पनि घटेर आएको निगमको भनाइ छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि बिक्री मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ। पोखरा र भैरहवाका लागि भने ब्रेकइभेन बिन्दुमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।

पछिल्लो मूल्य समायोजनसँगै सर्वसाधारणले पेट्रोलियम पदार्थमा केही राहत महसुस गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय