१३औं सागमा पुरुष क्रिकेट : नेपालको पोल्टामा कास्य

१३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक हासिल गरेको छ । सोमबार बिहान भएको खेलमा माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै नेपालले कास्य पदक आफ्नो पोल्टामा पारेको हो ।

माल्दिभ्सले दिएको ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । ब्याटिङमा उत्रिएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो ।

नेपालको जितका लागि आरिफ सेखले सर्वाधिक ३२ रन, कप्तान ज्ञानेन्द्र मल्लले २२, विनोद भण्डारीले १२, रोहितकुमार पौडेल १५, पवन सरार्फले १०, पारस खड्काले ३ र दीपेन्द्रसिंह ऐरीले २ रन बनाए । खेलमा रोहितकुमार र पवन नट आउट रहे ।

खेलमा उमर एडमले नेपालको ३ विकेट लिए । पहिले ब्याटिङ गरेको माल्दिभ्सले नेपालका बलरसामु संघर्ष गर्दै सम्मानजनक स्कोर बनाएका थिए । माल्दिभ्सका लागि १०औं नम्बरमा क्रिजमा आएका लिम साफेजले सर्वाधिक १९ रन बनाए । कप्तान मोहमद महफुजले १६ रन जोडे ।

नेपालको तुलनामा निकै कमजोर मानिएको माल्दिभ्सले राम्रो सुरुवात गरेको थियो । ४.३ ओभरमा २२ रन बनाउँदा पहिलो विेकट गुमाएको थियो । त्यसपछि थप १४ रन जोड्दा ६ विकेट गुमाई ओभरमा ८.२ ओरमा ३६-६ को अवस्थामा पुगेको थियो ।

नेपालका लागि ललितनारायाण राजवंशीले ३, सुशन भारीले २ र पारस खड्काले १ विकेट लिए । समूह चरणका ४ खेलमा नेपालले २ जित निकाल्दा २ मा हार व्यहोरेको थियो । पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानमाथि १४१ रनको जित हात पारेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई ८४ रनले हराएको थियो ।

नेपाल चौथो खेलमा बंगलादेश यू-२३ सँग ४४ रनले पराजित भएको थियो । साग पुरुष क्रिकेटमा भारत र पाकिस्तानले भने साग क्रिकेटमा सहभागिता जनाएनन् ।

प्रतिक्रिया