काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत प्रि–क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। फ्रान्सले पाराग्वेलाई तथा मोरक्कोले सहआयोजक क्यानडालाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन्।
अमेरिकाको फिलाडेल्फिया रंगशालामा सम्पन्न खेलमा फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्यो। खेलको ७०औँ मिनेटमा कप्तान किलियन एम्बाप्पेले पेनाल्टीमार्फत गरेको एक मात्र गोल नै फ्रान्सको जितका लागि निर्णायक बन्यो।
यससँगै एम्बाप्पेले प्रतियोगितामा आफ्नो सातौँ गोल पूरा गर्दै अर्जेन्टिनाका लियोनल मेसीको गोलसंख्यासँग बराबरी गरेका छन्। १८औँ पटक विश्वकप खेलिरहेको फ्रान्स दशौँ पटक क्वार्टरफाइनलमा पुगेको हो।
यस्तै, अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न अर्को प्रि–क्वार्टरफाइनलमा मोरक्कोले क्यानडामाथि ३–० को प्रभावशाली जित दर्ता गर्यो। मोरक्कोका अज्जेदिन ओउनाहीले दुई गोल गर्दा सुफियान रहिमीले एक गोल थपे।
सातौँ पटक विश्वकप खेलिरहेको मोरक्को दोस्रो पटक क्वार्टरफाइनलमा पुग्न सफल भएको छ। साथै, दुई पटक विश्वकपको क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्रको कीर्तिमान पनि मोरक्कोले बनाएको छ।
पहिलो पटक विश्वकपको अन्तिम १६ मा पुगेको सहआयोजक क्यानडा भने हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ। साथै, यस संस्करणको विश्वकपबाट बाहिरिने पहिलो आयोजक राष्ट्र पनि क्यानडा बनेको छ।