भौतिक संरचनाभन्दा मानवीय जीवन महत्वपूर्ण: नेपाली सेना

नेपाली सेनाले भदौ २४ गते उत्पन्न अराजक अवस्थामा विशिष्ट व्यक्ति, कूटनीतिज्ञ तथा सर्वसाधारणको जीवन रक्षा नै पहिलो प्राथमिकता दिएको स्पष्ट पारेको छ। जंगीअड्डाबाट जारी लेखमार्फत सेनाले जीवन जोगाउनु कुनै व्यक्ति विशेषको संरक्षण नभई राज्यको आधारभूत कर्तव्य भएको जनाएको हो।

लेखमा अवस्था थप व्यापक र अराजक बन्दै गएपछि मानवीय जीवनलाई सर्वोपरि राख्दै संयमित रूपमा उपस्थिति जनाएको उल्लेख गरिएको छ। भौतिक पूर्वाधारभन्दा मानवीय जीवन बढी महत्वपूर्ण हुने स्पष्ट पार्दै सेनाले त्यसैअनुसार जिम्मेवारी निर्वाह गरेको दाबी गरेको छ।

यदि भौतिक संरचना जोगाउने नाममा मानवीय क्षति हुन पुगेको भए ‘सेनाले सिंहदरबार जोगाउन जनतामाथि गोली चलायो’ भन्ने गम्भीर प्रश्न उठ्ने निश्चित रहेको सेनाको भनाइ छ। त्यसैले संयम अपनाउँदै थप द्वन्द्व र अस्थिरता रोक्न भूमिका खेलेको सेनाले दाबी गरेको छ।

साथै, कठिन घडीमा सर्वसाधारणले सेनाबाट तत्काल उद्धार र सहयोग पाएको अनुभव सार्वजनिक गरिरहेको उल्लेख गरिएको छ। भूकम्पजस्ता विपद्का बेला मानिसहरू खुला स्थानमा निस्कने उदाहरण दिँदै जीवन रक्षालाई प्राथमिकता दिनु स्वाभाविक र आवश्यक रहेको तर्क सेनाले प्रस्तुत गरेको छ।

प्रतिक्रिया