आरसीबीले आईपीएल इतिहासमा पहिलोपटक उपाधि चुम्यो, पञ्जाब किंग्स ६ रनले पराजित

रोयल च्यालेन्जर्स बैंगोलर (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औं संस्करणको उपाधि आफ्नो नाममा लेखाएको छ। मंगलबार अहमदाबादको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा सम्पन्न फाइनल खेलमा आरसीबीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै पहिलो पटक च्याम्पियन बन्ने गौरव हासिल गरेको हो।

खेलमा टस हारेर पहिला ब्याटिङको अवसर पाएको आरसीबीले निर्धारित २० ओभरमा १९० रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो। टोलीका ओपनर विराट कोहलीले ३५ बलमा ४३ रनको योगदान दिए भने मंयक अग्रवालले २४ रन बनाए। त्यसपछि रजत पाटिदारले २६ रन, लियम लिभिंगस्टोनले २५ रन, जितेश शर्माले २४ रन तथा रोमारियो शेफर्डले १७ रन जोड्दै स्कोर उकासेका थिए। बलिङतर्फ पञ्जाबका अर्शदीप सिंह र क्याली जेमिन्सनले समान ३-३ विकेट लिए।

१९१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको पञ्जाब किंग्सले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रनमै सिमित रह्यो। उसका लागि सशांका सिंहले विस्फोटक ब्याटिङ गर्दै ३० बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै अविजित ६१ रन बनाएका थिए। तर उनको प्रयास टोलीलाई जितसम्म पुर्‍याउन पर्याप्त भएन। अन्य ब्याट्सम्यानहरूमा प्रभसिम्रन सिंहले २६, जोस इंग्लिसले ३९ र प्रियन्सा आर्यले २४ रनको योगदान दिए।

आरसीबीको बलिङमा भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्यले २-२ विकेट लिए भने यश दयाल, जोश ह्याजलवुड र रोमारियो शेफर्डले समान १-१ विकेट हात पारे। सन्तुलित प्रदर्शनसहित आरसीबीले वर्षौँको पर्खाइ अन्त्य गर्दै पहिलो पटक आईपीएलको उपाधि उचालेको हो।

प्रतिक्रिया