रवि लामिछाने बुधबारसम्म हिरासतमा, थुनछेक बहस जारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुधबारसम्मका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिने भएको छ।

लामिछानेको तर्फबाट थुनछेक बहस सकिए पनि जाहेरीवालाको तर्फबाट बहस नसकिएकाले न्यायाधीश माधवप्रसाद अधिकारीले उनलाई हिरासतमै राख्न आदेश दिएका हुन्।

सोमबारको थुनछेक बहसका क्रममा लामिछानेले आफूलाई हिरासतमा नराखी घर पठाउन आग्रह गरेका थिए। तर, बहस नसकिएकाले न्यायाधीश अधिकारीको एकल इजलासले आदेश नआउन्जेल उनलाई हिरासतमै राख्न निर्देशन दिएको हो।

लामिछानेमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ। कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेपछि लामिछाने काठमाडौंमा हाजिर भएका थिए।

जिल्ला प्रहरी परिसर, काठमाडौंले पुस २१ गते रविसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सिफारिस गरेको थियो।

आइतबार सरकारी वकिलको तर्फबाट बहस सकिएपछि सोमबार जाहेरवालाको तर्फबाट बहस सुरु भएको थियो। वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, स्वागत नेपाल, र सुरेन्द्र भण्डारीले जाहेरवालाको तर्फबाट बहस गरेका छन्। लामिछानेको तर्फबाट भने वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तले बहस गरिरहेका छन्।

न्यायाधीश अधिकारीले सोमबार बिहान सरकारी वकिल र प्रतिवादीको बहस समयसीमा तोके पनि बहस नसकिएकाले लामिछाने बुधबारसम्म हिरासतमा रहने भएका छन्।

प्रतिक्रिया