वर्षा र पहिरोको असर : देशभरका मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै कोशी, बागमती, गण्डकी, कर्णाली तथा काठमाडौं उपत्यकाका विभिन्न सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध रहेको जनाएको हो।

काठमाडौं उपत्यकाअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुर क्षेत्रमा साउन १८ गते बिहान गएको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ।

कोशी प्रदेशमा भोजपुरको बोखिम क्षेत्रमा वैशाख १२ गतेदेखि प्रभावित मध्यपहाडी लोकमार्गमा वैकल्पिक मार्गमार्फत एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलामको राजदुवाली क्षेत्रमा वैशाख २३ गतेदेखि मेची राजमार्ग अवरुद्ध रहे पनि वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ। त्यस्तै, तेह्रथुमको लालिगुराँस नगरपालिका–स्थित काँडे क्षेत्रमा साउन १८ गते बिहान गएको पहिरोले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द भएको छ।

बागमती प्रदेशका विभिन्न सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी हुँदै सञ्चालन हुने बीपी राजमार्गमा जेठ २२ गतेदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ। सडकको अवस्था मूल्याङ्कन गर्दै दिनको समयमा मात्र सवारी सञ्चालन गर्न दिइएको प्रहरीले जनाएको छ।

मकवानपुरको कान्ति लोकपथअन्तर्गत हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडक खण्डमा पनि असार २९ गतेदेखि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध कायम छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चारकिलो र कोदारी क्षेत्रमा गएको पहिरोका कारण अरनिको राजमार्ग असार ३१ र साउन १ गतेदेखि पूर्ण रूपमा बन्द छ।

दोलखाको किर्नेटार क्षेत्रमा आएको बाढीले लामासाँघु–रामेछाप सडक अवरुद्ध बनाएपछि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। रसुवाको उत्तरगया गाउँपालिका–स्थित खाल्टे क्षेत्रमा आएको बाढीले त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक पूर्ण रूपमा बन्द छ। उक्त सडक तत्काल सञ्चालनमा आउने सम्भावना नरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशमा पनि पहिरोको प्रभाव व्यापक देखिएको छ। बागलुङको जैमिनीस्थित बेलबगर क्षेत्रमा कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा रहेको छ। गोरखाको धार्चे गाउँपालिका–स्थित अण्डर डाँडामा गएको पहिरोले लार्के–बेनीघाट कच्ची सडक पूर्ण रूपमा बन्द भएको छ।

त्यस्तै, मनाङको धारापानी क्षेत्रमा साउन १७ गते गएको पहिरोले चामे–बेँसीसहर सडक अवरुद्ध भएको छ। म्याग्दीको बैसेरी र लमजुङको खर्खरे भिरमा साउन १८ गते बिहान गएको पहिरोका कारण बेनी–जोमसोम तथा बेँसीसहर–मनाङ सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन्।

कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–स्थित रिजेगार्ड खोलामा साउन ६ गते आएको बाढीले भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध बनाएको छ।

नेपाल प्रहरीले वर्षा निरन्तर भइरहेकाले अत्यावश्यक बाहेक लामो दूरीको यात्रा गर्दा सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न तथा सम्बन्धित निकायको सूचना पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय