सुधन गुरुङबारे छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौं । पूर्व गृहमन्त्री तथा सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। समितिका संयोजक अच्युतप्रसाद भण्डारीले छानबिन प्रक्रिया सम्पन्न भएपछि ४५ पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्री बालेन शाहसमक्ष पेश गरिएको जानकारी दिएका छन्।

भण्डारीका अनुसार समितिले आफ्नो जिम्मेवारी पूरा गर्दै प्रतिवेदन बुझाइसकेको छ भने अब त्यसमाथिको आवश्यक प्रक्रिया सरकारले अघि बढाउनेछ। छानबिनका क्रममा समितिले गुरुङसँग बयान लिएको थियो भने उनीमाथि लागेका आरोपबारे सम्बन्धित निकाय तथा व्यक्तिहरूसँग जानकारी संकलन गर्नुका साथै सम्पत्ति विवरणको समेत अध्ययन गरेको थियो।

मन्त्रिपरिषद्को २८ वैशाखको निर्णयअनुसार पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा समिति गठन गरिएको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए।

के थियो विवाद ?

व्यवसायी दीपक भट्ट सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेपछि उनीसँगको व्यावसायिक सम्बन्धका कारण गुरुङ विवादमा तानिएका थिए। सार्वजनिक गरिएको सम्पत्ति विवरणमा सेयर लुकाएको तथा विवादित व्यवसायीसँग सम्बन्धित कम्पनीमा लगानी रहेको आरोप लागेपछि गुरुङले गत ९ वैशाखमा मन्त्री पदबाट राजीनामा दिएका थिए।

राजीनामा दिँदै उनले आफूमाथि उठेका प्रश्नहरूको निष्पक्ष छानबिन हुनुपर्ने बताएका थिए। त्यसपछि सरकारले छानबिन समिति गठन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

गुरुङको राजीनामापछि गृह मन्त्रालय प्रधानमन्त्री शाहकै मातहतमा सञ्चालन हुँदै आएको छ। अब समितिको प्रतिवेदनका आधारमा सरकारले गर्ने निर्णयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। केही राजनीतिक विश्लेषकहरूले छानबिनबाट सफाइ पाएमा गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्कन सक्ने सम्भावनाबारे पनि चर्चा गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय