टेलिकम उपकरण खरिद प्रकरण : बस्नेतसहित १६ जनामाथि विशेष अदालतमा मुद्दा

काठमाडौं — टेरामक्स प्रविधिका उपकरण खरिदमा अनियमितता भएको भन्दै नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना व्यक्ति र दुईवटा कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूबाट जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँभन्दा बढीको क्षतिपूर्तिको माग दाबी गर्दै अभियोगपत्र पेस गरेको हो।

मुद्दा दायर गरिएका व्यक्तिहरूमध्ये दुरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनाल, पूर्वसदस्यहरू धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती, निर्देशक विजयकुमार राय, सुरेन्द्रलाल हाडा र दिपेश आचार्य, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हरिण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र र सञ्जीव अधिकारी रहेका छन्।

यही प्रकरणमा मुछिएका पूर्व सञ्चारमन्त्रीद्वय ज्ञानेन्द्रबहादुर कार्की र गोकुल बाँस्कोटा तथा पूर्व मुख्यसचिव वैकुण्ठ अर्याललगायतविरुद्ध भने आयोगले मुद्दा नचलाउने निर्णय गरेको छ।

मुद्दामा समावेश दुई कम्पनीमध्ये एक परामर्शदाता कम्पनी भ्यानराइज सोलुसन्स् (SAL Offshore) हो, जसका सीईओ जमाल अनौती र अर्की कम्पनी कनेक्सन ट्रेड लिंक प्रा.लि.का अध्यक्ष दिलीपकुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेल छन्। आयोगका अनुसार उनीहरूले राज्यको सम्पत्तिमा दुरुपयोग गरी सरकारलाई ठुलो नोक्सानी पुर्‍याएको उल्लेख छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय