मयूरधाप औद्योगिक क्षेत्रको निर्माण आठ वर्षदेखि अलपत्र

काठमाडौं - मकवानपुरको हेटौंडा–१४ स्थित मयूरधापमा औद्योगिक क्षेत्रको निर्माण कार्य आठ वर्षदेखि रोकिएको छ। ०७३ मा तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सातै प्रदेशमा एक–एकवटा औद्योगिक क्षेत्र निर्माण गर्ने योजना ल्याएपछि मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास गरिएको थियो। तर, विभिन्न अवरोधले गर्दा हालसम्म निर्माण कार्यले गति लिन सकेको छैन। मुख्यत: पर्सा राष्ट्रिय निकुञ्जको बफरजोन क्षेत्रमा पर्ने जग्गाका कारण वन तथा वातावरण मन्त्रालयले आवश्यक स्वीकृति दिएको छैन, जसले गर्दा ईआईए (Environmental Impact Assessment) प्रक्रिया रोकिएको छ।

मयूरधापको खाली जमिनमा ५० प्रजातिका चराचुरुंगी र १३ प्रजातिका घस्रने जीवजन्तु पाइने भएकाले निकुञ्जले यस क्षेत्रमा औद्योगिक निर्माणको अनुमति दिएको छैन। यद्यपि, पछिल्लो समय यहाँको जनसंख्या वृद्धि र जनावरहरूको आवागमनमा कमी आएको बताइएको छ। वन मन्त्रालयले ईआईएको स्वीकृति दिएपछि मात्रै निर्माण अघि बढाउन सकिने औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ।

सरकारले ०७७ भित्रै मयूरधाप औद्योगिक क्षेत्र सञ्चालन गर्ने योजना बनाएको थियो। विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अनुसार, मयूरधाप औद्योगिक क्षेत्र निर्माणमा करिब ७ अर्ब २ करोड ३४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ। निर्माणपछि विभिन्न उद्योगहरू, जस्तै रङ, दुग्ध उत्पादन, साबुन, प्लास्टिक, स्टिल, रबर, सिमेन्ट आदि स्थापना गरी करिब २० हजार मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी दिने योजना छ। तर, हालसम्म कुनै ठोस प्रगति हुन नसक्दा परियोजना अलपत्र परेको छ। आजको कान्तिुर दैनिकबाट 

प्रतिक्रिया