ग्रामविकास विद्यालयका ५५ विद्यार्थीलाई न्यानो जाकेट र स्टेशनरी वितरण

काठेखोला गाउँपालिका–५ बिहुँकोटस्थित ग्रामविकास आधारभूत विद्यालय, दहपानीमा जाडो मौसमलाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई न्यानो जाकेट तथा स्टेशनरी सामग्री वितरण गरिएको छ। क्रेगेबिर्न स्कुल र क्रेगेबिर्न समाज अस्ट्रेलिया, मेलबर्नको सहयोगमा आयोजित उक्त कार्यक्रम विद्यालयका पूर्वविद्यार्थी तथा हाल अस्ट्रेलियामा बसोबास गर्दै आएका प्रेम प्रसाद कंडेलको संयोजकत्वमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि काठेखोला गाउँपालिका अध्यक्ष राजु थापा रहेका थिए। संस्थाको सहयोगमा ५५ जना विद्यार्थीलाई न्यानो जाकेट र स्टेशनरी सामग्री वितरण गरिएको थियो भने विद्यालयलाई एक थान ल्यापटप पनि हस्तान्तरण गरिएको थियो। सामग्रीहरू काठेखोला गाउँपालिकाका न्यायिक समिति संयोजक महेन्द्र प्रसाद कंडेलमार्फत विद्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले शिक्षा तथा सामाजिक सहयोगलाई स्थानीय सरकारले उच्च प्राथमिकतामा राखेको बताए। न्यायिक समिति संयोजक कंडेलले यस्ता सहयोगहरूले विद्यार्थीको शैक्षिक विकासमा सकारात्मक प्रभाव पर्ने धारणा राखे। सो कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष ग्यामानथ कंडेल, वडा नम्बर ६ का अध्यक्ष बृहस्पति कंडेल, विद्यालय सल्लाहकार समितिका संयोजक रधुपति शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

विद्यालयकी प्रधानाध्यापक राधिका शर्माले सहयोग प्रदान गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सहयोग कार्यक्रमले शिक्षा क्षेत्रमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन शिक्षिका गीता आचार्यले गरेकी थिइन् भने कार्यक्रम वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञामनाथ कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। आयोजक पक्षले आगामी दिनहरूमा पनि शैक्षिक तथा मानवीय सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय