प्रभु बैंकको अध्यक्षमा कँडेल नियुक्त, राष्ट्र बैंकमा शपथ ग्रहण

काठमाडौं । प्रभु बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा किशोरराज कँडेल नियुक्त भएका छन्। बैंकको २८१ औं सञ्चालक समिति बैठकले उनलाई सर्वसम्मत निर्णयसहित अध्यक्षमा चयन गरेको हो।

उनले मिति २०८२ असार २३ गते नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयमा आयोजित एक समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मण प्रसाद दाहालको उपस्थितिमा भएको उक्त कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सहित अन्य अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

कँडेलको अध्यक्षतामा रहेको सञ्चालक समिति २०८२ असार २१ गते सम्पन्न बैंकको १३ औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निर्वाचित सञ्चालक समितिको निरन्तरता हो।

कँडेलले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। उनले लोक सेवा आयोग, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व विभाग, नेपाल टेलिकम, कृषि अनुसन्धान परिषद् लगायतका निकायहरूमा उच्च पदमा रहेर ३८ वर्षभन्दा बढी समय सरकारी सेवामा अनुभव हासिल गरेका छन्।

सरकारी सेवामा सफलतापूर्वक योगदान पुर्‍याएका कँडेलको बैंक तथा वित्तीय क्षेत्रमा अनुभव र नेतृत्वले प्रभु बैंकको संस्थागत विकासमा थप योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय