काठमाडौँ । केही वर्षअघिसम्म विद्युत् आयातमा निर्भर रहेको नेपाल अहिले विद्युत् व्यापारमा उल्लेख्य सफलता हासिल गर्दै खुद निर्यातकर्ता बनेको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बंगलादेशमा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गर्दा सुक्खायाममा भारतबाट १० अर्ब २२ करोड ७४ लाख रुपैयाँको विद्युत् आयात गरेको छ। यससँगै एकै आर्थिक वर्षमा विद्युत् व्यापारबाट १९ अर्ब ९ करोड ७२ लाख रुपैयाँ खुद आम्दानी भएको नेपाल विद्युत् प्राधिकरणको तथ्यांकले देखाएको छ।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८०/८१ देखि नेपालले आयातभन्दा बढी विद्युत् निर्यात गर्न थालेको हो। उनका अनुसार अहिले औसतमा दैनिक करिब एक हजार मेगावाट विद्युत् भारततर्फ निर्यात भइरहेको छ र हरेक वर्ष निर्यातको मात्रा विस्तार हुँदै गएको छ।
नेपालले वर्षायाममा आन्तरिक माग पूरा भएपछि बचत हुने विद्युत् भारत र बंगलादेशमा बिक्री गर्दै आएको छ। हाल नेपाल–भारतबीच अन्तरदेशीय प्रसारण लाइनमार्फत १ हजार ५३० मेगावाट आयात र १ हजार ८५० मेगावाट निर्यात गर्न सक्ने क्षमता विकास भइसकेको छ। यसबाहेक १३२ केभीका प्रसारण लाइनमार्फत पनि दुवै देशबीच विद्युत् व्यापार भइरहेको छ।
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्र शाक्यले अब प्रसारण पूर्वाधारभन्दा पनि भारतबाट थप विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त गर्नु मुख्य चुनौती बनेको बताए। उनका अनुसार आगामी वर्षायामअघि थप एक हजार मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त गर्न सके उत्पादन खेर जाने अवस्था अन्त्य हुनेछ।
उनले ढल्केवर–मुजफ्फरपुर, निर्माणाधीन ढल्केवर–सीतामढी तथा नयाँ बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन पूर्ण क्षमतामा सञ्चालनमा आएपछि नेपालले करिब २ हजार ५०० मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्ने पूर्वाधार तयार हुने बताए। तर भारतले आयोजनाअनुसार विद्युत् खरिदको स्वीकृति दिन ढिलाइ गरिरहेकाले कूटनीतिक पहललाई तीव्र बनाउनुपर्ने उनको धारणा छ। हाल भारतले ३७ जलविद्युत् आयोजनाबाट उत्पादित करिब १ हजार २०० मेगावाट विद्युत् खरिद गर्न स्वीकृति दिएको छ।
नेपाल र भारतबीच ढल्केवर–मुजफ्फरपुर तथा निर्माणाधीन ढल्केवर–सीतामढी ४०० केभी प्रसारण लाइनमार्फत आयात क्षमता १ हजार ४०० मेगावाट र निर्यात क्षमता १ हजार ६५० मेगावाट पुर्याउने सहमति भएको छ। त्यस्तै, निर्माणाधीन नयाँ बुटवल–गोरखपुर प्रसारण लाइनबाट प्रारम्भिक चरणमा १३० मेगावाट आयात र २०० मेगावाट निर्यात गर्न सकिने व्यवस्था गरिएको छ। नेपालतर्फको प्रसारण लाइन आगामी अगस्टसम्म सम्पन्न हुने तथा सबस्टेसन सन् २०२७ को डिसेम्बरसम्म तयार हुने अपेक्षा गरिएको छ।
विद्युत् निर्यात बढे पनि स्वदेशी उद्योगीहरूले भने गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति अझै चुनौतीपूर्ण रहेको गुनासो गर्दै आएका छन्। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले विद्युत्लाई कच्चा पदार्थका रूपमा विदेश बेच्नुभन्दा स्वदेशमै खपत बढाएर उद्योग विस्तार, मूल्य अभिवृद्धि र आयात प्रतिस्थापनमा जोड दिनुपर्ने बताए। उनका अनुसार प्रसारण तथा वितरण पूर्वाधार कमजोर हुँदा औद्योगिक क्षेत्रमा बारम्बार ट्रिपिङ हुने समस्या कायम छ र अझै पनि धेरै उद्योगले जेनेरेटरको भर पर्नुपरेको अवस्था छ।
नेपालले भारतीय ऊर्जा एक्सचेन्जको ‘डे अहेड’ र ‘रियल टाइम’ बजारमार्फत प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्दै आएको छ। साथै, मध्यकालीन सम्झौताअनुसार भारतीय कम्पनी एनभीभीएनमार्फत हरियाणा राज्यमा पनि विद्युत् आपूर्ति भइरहेको छ।
बंगलादेशसँगको त्रिपक्षीय सम्झौताअनुसार नेपालले प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ। आर्थिक वर्ष २०८२/८३ मा बंगलादेशमा मात्रै १ अर्ब ६ करोड ५ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री भएको छ। नेपालले प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले विद्युत् बिक्री गरिरहेको भए पनि थप २० मेगावाट निर्यात गर्ने सहमतिले अझै भारतको प्रसारण स्वीकृति पाएको छैन।
ऊर्जा उत्पादन र प्रसारण पूर्वाधार विस्तारसँगै नेपालले विद्युत् निर्यातमा उल्लेख्य उपलब्धि हासिल गरेको भए पनि थप बजार विस्तार, भारतबाट समयमै स्वीकृति, तथा स्वदेशमै विद्युत्को प्रभावकारी उपयोग सुनिश्चित गर्न सके यसको आर्थिक लाभ अझै बढ्ने ऊर्जा क्षेत्रका जानकारहरूको धारणा छ।