काठमाडौँ । मनसुनी प्रणाली थप सक्रिय भएसँगै आगामी तीन दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले बाढी, पहिरो, डुबान र गेग्रान बहावको जोखिम बढ्ने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले वर्षाको गतिविधि तीव्र हुने देखिएको छ। मौसमविद् सञ्जीव अधिकारीका अनुसार उक्त रेखा पश्चिम क्षेत्रमा औसतभन्दा केही माथि र पूर्व क्षेत्रमा औसत स्थानकै आसपास रहेको छ।
यसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा पहाडी जिल्लामा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी र तराईका अधिकांश क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना छ भने हिमाली क्षेत्रमा वर्षासँगै हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ। रातिको समयमा वर्षा अझ तीव्र हुने र कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
लगातारको वर्षाले पहाडी क्षेत्रमा पहिरो, भूक्षय तथा सडक अवरुद्ध हुने जोखिम बढ्नेछ भने नदी तटीय क्षेत्र र तराईमा बाढी तथा डुबानको सम्भावना रहने मौसमविद्को भनाइ छ। यसले कृषि, स्वास्थ्य, पर्यटन तथा यातायात क्षेत्रमा समेत असर पार्न सक्ने जनाइएको छ।
विभागले विशेषगरी पदयात्रा, पर्वतारोहण तथा सडक र हवाई यात्रा गर्नेहरूलाई मौसमको अवस्थाबारे नियमित जानकारी लिन र विभागबाट जारी हुने पछिल्ला बुलेटिन तथा सूचनालाई ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ।