काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालका २० वाणिज्य बैंकहरूले कुल १६ अर्ब २३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा करिब २१ प्रतिशतले वृद्धि भएको हो। गत वर्षको सोही अवधिमा बैंकहरूको नाफा १३ अर्ब ३४ करोड रुपैयाँ मात्र थियो।
बैंकहरूको नाफामा वृद्धि भए तापनि खुद ब्याज आम्दानी भने घटेको छ। बैंकहरूको खुद ब्याज आम्दानी गत वर्षको पहिलो त्रैमासमा ४९ अर्ब ४७ करोड रुपैयाँ थियो भने यस वर्षको सोही अवधिमा ७.७४ प्रतिशतले घटेर ४५ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको छ। यस वर्ष बैंकहरूले खराब कर्जाबापत छुट्याउनुपर्ने रकम पनि घटेको छ। गत वर्षको पहिलो त्रैमासमा १७ अर्ब ५९ करोड रुपैयाँ खराब कर्जाबापतको व्यवस्था राखिएकोमा यस वर्ष ११ अर्ब १६ करोड रुपैयाँमा झरेको छ। खराब कर्जाको औसत ३.५२ प्रतिशतमा पुगेको छ, जुन गत वर्षको ३.०६ प्रतिशतको तुलनामा वृद्धि हो।
तरलताको प्रचुरता र ऋणको माग घटेपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्, जसका कारण कर्जाको ब्याजदर पनि घटेर एकल अंकमा पुगेको छ। बैंकहरूले ७–८ प्रतिशतको ब्याजदरमा कर्जाका विभिन्न योजना ल्याए पनि कर्जाको माग अपेक्षित रूपमा बढ्न सकेको छैन। यस आर्थिक वर्षमा राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्य १२.५ प्रतिशत राखेको छ, तर बैंकहरूले लक्ष्य अनुसारको कर्जा विस्तार गर्न सकेका छैनन्।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरूको नाफा वृद्धि हुनुमा बैंकको सञ्चालन क्षमता, नीतिगत व्यवस्थाका कारण खराब कर्जाको व्यवस्थापनमा कमी, र शुल्क आम्दानीको वृद्धि मुख्य कारक रहेको बताएका छन्। मर्जरले गत वर्ष केही बैंकलाई फाइदा पुर्याए पनि यस वर्ष स्प्रेडमा सुविधा नहुँदा ब्याज आम्दानी घटेको छ।
यस त्रैमासमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंक नबिल बैंक रहेको छ, जसको नाफा २ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। सात वटा बैंकको नाफा एक अर्ब रुपैयाँभन्दा धेरै छ भने बाँकी १२ वटाको नाफा एक अर्बभन्दा कम रहेको छ। ७ वटा बैंकको नाफा भने घटेको छ। आजको कान्तिपुर दैनिकबाट