नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता गठबन्धनको सहमति : केपी ओली प्रधानमन्त्री

काठमाडौँ। नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउने समझदारी भएको छ। निरन्तर गृहकार्यपछि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यराति सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सहमति अनुसार संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधार र अर्थतन्त्र सुधारमा काम गरिनेछ। राष्ट्रपति रामचन्द्र पौडेललाई नयाँ सत्ता समीकरणको जानकारी दिइएको छ। दुई दलले संविधानको धारा ७६ (२) अन्तर्गत सरकार बनाउने जानकारी गराएका छन्।

तत्काल सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्नेछन्, भने डेढ वर्षपछि कांग्रेस सभापति देउवाले चुनावी सरकारको नेतृत्व गर्नेछन्। सरकारमा एमालेले ९ वटा मन्त्रालय (अर्थ मन्त्रालयसहित) र कांग्रेसले १० वटा मन्त्रालय (गृहसहित) पाउने छन्। बाँकी मन्त्रालय साना दललाई दिइनेछ।

सातवटै प्रदेश सरकारमा भागबण्डा भएको छ। कांग्रेसले बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्नेछ भने एमालेले कोशी, कर्णाली, र लुम्बिनी प्रदेशको नेतृत्व गर्नेछ। मधेस प्रदेशको नेतृत्व मधेस केन्द्रित दलले गर्नेछ।

संविधान संशोधनको लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने सहमति भएको छ। राष्ट्रिय सहमतिको सरकार सम्भव नभए दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने लक्ष्य कांग्रेस र एमालेको छ।

यसअघि वैशाखमा पनि कांग्रेस र एमाले मिलेर सरकार बनाउने प्रयास असफल भएको थियो। तर, असार १५ गते बालकोटमा तीन घण्टा लामो छलफलपछि दुवै दल नयाँ समीकरणमा सहमत भएका हुन्। शीर्ष तहमा सहमति जुटेपछि कांग्रेस र एमालेका नेताले आन्तरिक छलफल गरेर सहमति अन्तिम रूप दिएका हुन्।

प्रतिक्रिया