प्रचण्ड नेतृत्वको सरकारले अर्थतन्त्र खोक्रो बनाएको प्रधानमन्त्री ओलीको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासलाई सरकारको मुख्य प्राथमिकता भएको बताएका छन्। सोमबार नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले देशमा सुशासन स्थापना गर्दै विकास निर्माणको गति बढाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताएका हुन्।

उनले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई लक्षित गर्दै अघिल्लो सरकारले मुलुकको अर्थतन्त्र कमजोर बनाएको आरोप लगाए। प्रधानमन्त्री ओलीका अनुसार, अघिल्लो सरकारले देशभरका योजनाको संख्या अत्यधिक बढाएर आर्थिक प्रणालीलाई असन्तुलित बनाएको छ।

उनका अनुसार, देशभर ७ हजार योजना रहेकामा प्रचण्ड नेतृत्वको सरकारले एकैचोटि ११ हजार योजना थप गरी कुल योजना संख्या १८ हजार पुर्‍याएको बताए। उनले योजनाहरूलाई बिना तयारी बजेटमा समावेश गरिएको भन्दै अहिले ती योजनाहरूको खर्च कसरी व्यहोर्ने भन्ने अन्योल सिर्जना भएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले भने, "देशको अर्थतन्त्र साँच्चिकै खोक्रो र रित्तो बनाइएको रहेछ। बुझेर हो वा नबुझेर, तर यस्तो निर्णयले देशलाई विनाशतर्फ लैजान खोजिएकोजस्तो देखिन्छ। योजना १८ हजार पुर्‍याएर बजेट बिना बाँडफाँड गर्दा अहिले त्यसको भुक्तानी कसरी गर्ने भन्ने समस्या देखिएको छ।"

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय