सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सुगम संगीत अर्थात् आधुनिक विधा पछिल्लो समय केही पछाडि परेको देखिन्छ । आधुनिक गीत सुन्ने–हेर्ने दर्शक–श्रोता प्रशस्तै भए पनि यस विधामा कलाकारहरूको सक्रियता भने अपेक्षाकृत कम देखिएको छ ।

यही धारलाई अघि बढाउँदै युवा सर्जक बाबु विनोदले विगत केही वर्षदेखि निरन्तर रूपमा सिर्जना गर्दै आएका छन् । सिर्जनात्मक सम्भावना बोकेको सर्जकका रूपमा उनलाई धेरैले प्रशंसा गर्ने गरेका छन् ।

यसै क्रममा उनले भर्खरै ‘मान्छे न्यायाधीश बन्छ’ बोलको नयाँ आधुनिक गीत सार्वजनिक गरेका छन् । गीतका शब्द उनका अघिल्ला सिर्जनाजस्तै प्रभावशाली छन् भने संगीत र स्वर पनि मनमोहक रहेको छ ।

‘मेरि हजुर" जस्ताे एक करोडभन्दा बढी दर्शकले रुचाएका गीतमार्फत पहिचान बनाएका विनोदले यस गीतमा पनि सशक्त सन्देश दिन खोजेका छन् ।

गीतको विषयवस्तु वर्तमान सामाजिक अवस्थासँग नजिक देखिन्छ । कुनै पनि घटनामा हामीले हतारमा गर्ने निर्णय कति सही वा गलत हुन्छ भन्ने सन्देश गीतको अडियो–भिडियोमार्फत प्रस्तुत गरिएको छ ।

गीतमा चर्चित गायक तथा संगीतकार सुरज पण्डितको संगीत र स्वर रहेको छ भने गायिका समीक्षा अधिकारीले पनि आवाजमा साथ दिएकी छन् । कुसल सिंहको संगीत संयोजन रहेको यस गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ ।

विशाल घिमिरेको कथामा तयार गरिएको भिडियोमा सुशील गैरे, देवी गैरे, विराज बास्कोटालगायत अन्य बाल कलाकारहरूको अभिनय रहेको छ ।

गीत सार्वजनिक भएपछि दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको सर्जक बाबु विनोदले बताएका छन् । उनले प्राप्त हौसलाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सिर्जना ल्याउने प्रतिबद्धता जनाएका छन् ।

 

प्रतिक्रिया