असारमा बैंकमा थपियो २ खर्ब ४४ अर्ब निक्षेप, अधिक तरलता झन् बढ्यो

काठमाडौँ । असार मसान्तमा सरकारले ठूलो परिमाणमा भुक्तानी गरेपछि बैंकिङ प्रणालीमा निक्षेप उल्लेख्य रूपमा बढेको छ। नेपाल बैंकर्स संघका अनुसार असार महिनामा वाणिज्य बैंकहरूमा मात्रै २ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।

असार ३२ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा स्वदेशी मुद्रामा ७२ खर्ब ५५ अर्ब रुपैयाँ र विदेशी मुद्रामा २ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप रहेको छ। सोही अवधिमा स्वदेशी मुद्रामा ५१ खर्ब ९५ अर्ब रुपैयाँ र विदेशी मुद्रामा ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

यससँगै स्वदेशी मुद्रामा बैंकहरूको कर्जा–निक्षेप अनुपात ७१.६ प्रतिशत र विदेशी मुद्रामा ३९ प्रतिशत पुगेको छ। समग्र कर्जा–निक्षेप अनुपात ७०.५ प्रतिशतमा झरेको छ, जुन एक महिनाअघि ७२.५ प्रतिशत थियो।

कर्जा–निक्षेप अनुपात घटेसँगै बैंकिङ प्रणालीमा अधिक तरलता अझ बढेको छ। नेपाल राष्ट्र बैंकले निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न अनुमति दिए पनि हाल बैंकिङ प्रणालीमा करिब १४ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी अधिक तरलता रहेको अनुमान गरिएको छ।

यद्यपि, असारमा बढेको निक्षेपको ठूलो हिस्सा स्थायी नहुने बैंकरहरूको भनाइ छ। आर्थिक वर्षको अन्त्यमा हिसाब मिलानका लागि बैंक तथा निजी क्षेत्रले गर्ने अस्थायी प्रकृतिका कारोबारका कारण असारमा निक्षेप र कर्जाको आकार कृत्रिम रूपमा बढ्ने गरेको उनीहरूको अनुभव छ।

गत वर्ष पनि साउन महिनामा निक्षेप ५२ अर्ब रुपैयाँ र कर्जा ११ अर्ब रुपैयाँले घटेको थियो। त्यस्तै, कात्तिक र वैशाखमा पनि कर्जा घटेको देखिएको थियो। पुसमा बैंकहरूले १ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप र १ खर्ब ५ अर्ब रुपैयाँ कर्जा बढाएका थिए भने माघमा निक्षेप वृद्धि १० अर्ब र कर्जा वृद्धि मात्र १ अर्ब रुपैयाँमा सीमित भएको थियो।

यसले त्रैमासिक प्रतिवेदन र आर्थिक वर्षको अन्त्यमा बैंक तथा निजी क्षेत्रले हिसाब मिलानका लागि गर्ने कारोबारले निक्षेप र कर्जाको तथ्यांकमा अस्थायी प्रभाव पार्ने गरेको देखाउँछ।

असार महिनामा विशेषगरी १५ देखि २५ गतेको अवधिमा मात्रै करिब २ खर्ब रुपैयाँ निक्षेप थपिएको थियो। यही अवधिमा संघीय सरकारले करिब १ खर्ब ६० अर्ब रुपैयाँ बजेट खर्च गरेको थियो भने प्रदेश र स्थानीय तहहरूले पनि ठूलो परिमाणमा भुक्तानी गरेका थिए।

यही कारण असार मसान्तमा देखिएको निक्षेप वृद्धि लामो समय कायम नहुने र साउन महिनाको तथ्यांकपछि यसको वास्तविक अवस्था स्पष्ट हुने बैंकरहरूको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय