ह्यारी केन चम्किए, इंग्ल्याण्डले क्रोएसियालाई ४–२ ले हरायो

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत आज सम्पन्न खेलमा इंग्ल्याण्डले क्रोएसियामाथि ४–२ को रोमाञ्चक जित दर्ता गरेको छ।

अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्डले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।

इंग्ल्याण्डका कप्तान ह्यारी केनले खेलको १२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, ३६औँ मिनेटमा क्रोएसियाका मार्टिन बाटुरीनाले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए।

खेलको ४२औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई पुनः अग्रता दिलाए। पहिलो हाफको अतिरिक्त समयमा क्रोएसियाका पिटर मुसाले गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्‍याएपछि पहिलो हाफ रोमाञ्चक बराबरीमा सकिएको थियो।

दोस्रो हाफ सुरु भएको दुई मिनेटमै जुड बेलिङहमले गोल गर्दै इंग्ल्याण्डलाई ३–२ को अग्रता दिलाए। त्यसपछि खेलको ८५औँ मिनेटमा मार्कस रासफोर्डले अर्को गोल थपेपछि इंग्ल्याण्डले ४–२ को सहज जित सुनिश्चित गर्‍यो।

क्रोएसियाले खेलमा फर्कने प्रयास गरे पनि इंग्ल्याण्डको सशक्त आक्रमण र संगठित खेलका कारण थप गोल गर्न सकेन। जितसँगै इंग्ल्याण्डले प्रतियोगितामा महत्वपूर्ण सुरुवात गरेको छ भने क्रोएसिया पहिलो खेलमै पराजित भएको छ।

प्रतियोगिताअन्तर्गत घाना र पानामाबीचको खेल जारी रहेको छ। यस्तै, आज बिहान ७ः४५ बजे उज्बेकिस्तान र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय