काठमाडौं - राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको एक सर्वेक्षणले नेपालका होटल तथा रेस्टुराँमा निजी क्षेत्रबाट ५ खर्ब ४३ अर्ब २५ करोड स्थायी सम्पत्ति लगानी भएको देखाएको छ। यो पर्यटन क्षेत्रमा मुख्य पूर्वाधार मानिने होटल तथा रेस्टुराँ उद्योगले देशको अर्थतन्त्रमा १ खर्ब ९ अर्ब २७ करोडको मूल्य अभिवृद्धि गरेको तथ्यांकले देखाएको छ।
सर्वेक्षणअनुसार, निजी क्षेत्रका यी प्रतिष्ठानले २ खर्ब १६ अर्ब ७३ करोड खर्च गरेर ३ खर्ब २६ अर्ब १ करोडको सेवा उत्पादन गरिरहेका छन्। यस क्षेत्रमा २८ प्रतिशत ऋण तथा वित्तीय क्षेत्रको लगानी रहेको छ।
यो क्षेत्रमा करिब ३ लाख ८७ हजार व्यक्ति व्यवसायी र साझेदारका रूपमा संलग्न छन्, जसमा ४४ प्रतिशत महिला छन्। नियमित तलब तथा ज्यालादारीमा १ लाख ६ हजार कर्मचारी कार्यरत छन्, जसलाई वार्षिक २० अर्ब ६१ करोड तलब तथा सुविधा उपलब्ध गराइन्छ।
सर्वेक्षणका क्रममा देशभरका तारे होटल, रिसोर्ट, अल्पकालीन आवास र भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूलाई समेटिएको छ। कुल १ लाख ४२ हजार २ सय २३ प्रतिष्ठानको अध्ययन गरिएको छ। वाग्मती प्रदेशमा सबैभन्दा धेरै २ खर्ब ४१ अर्बको लगानी देखिएको छ भने कर्णालीमा ११ अर्बको मात्र छ।
होटलतर्फ देशभर १ लाख १६ हजार १ सय कोठा उपलब्ध छन्, जसमा तारे होटलका ८ हजार ४९६, पर्यटकस्तरीय होटलका १ लाख ७५, रिसोर्टका ३८२९ र होमस्टेका ३७०० कोठा छन्। तारे होटलको न्यूनतम शुल्क १४ सयदेखि प्रतिकोठा ६९ सय रुपैयाँसम्म पर्छ।
रेस्टुराँतर्फ एकपटकमा २२ लाख ३४ हजार मानिसलाई सेवा दिन सक्ने क्षमता रहेको पाइएको छ। तर, सबै होटल तथा रेस्टुराँ नेपाल सरकारमा दर्ता भएका छैनन्। सर्वेक्षणले ३७ प्रतिशत व्यवसाय गैरदर्ता अवस्थामा सञ्चालनमा रहेको देखाएको छ। आजको कान्तिपुर दैनिकबाट