काठमाडाैं/रमेश सेञ्चुरी- बागलुङ गैरागाउँ–काठमाडौं बिश्वकर्मा समाजले ‘एक युवा, पाँच बिरुवा’ भन्ने मुल नारासहित बृहत वृक्षारोपण अभियानको शुभारम्भ गरेको छ। गोकर्णेश्वर नगरपालिका अन्तर्गत राष्ट्रिय शान्ति तथा सहिद पार्क, जगडोलमा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन्।
वृक्षारोपण कार्यक्रम बन तथा वातावरण राज्यमन्त्री रूपा विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। समाजले जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्न र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ।
समाजका अध्यक्ष सरोज विश्वकर्माले अभियानलाई निरन्तरता दिँदै चाँडै नै जन्मभूमि बाग्लुङ गैरागाउँमा पनि ओखर, हलुवावेत, सुन्तला, अम्बा, अमला, कागतीलगायतका उन्नत जातका बिरुवाहरू रोप्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा समाजका उपाध्यक्ष राम विश्वकर्माले वृक्षारोपण अभियानले समाजमा हरियाली ल्याउनुका साथै पर्यावरणीय सन्तुलन कायम गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरे। कार्यक्रम सञ्चालन पनि उपाध्यक्ष विश्वकर्माले नै गरेका थिए।
यस अवसरमा पूर्व अध्यक्ष र निवर्तमान अध्यक्षले समाजलाई भवन आवश्यक भएको जनाउँदै मन्त्रीसमक्ष भवन निर्माणका लागि पहल गरिदिन अनुरोध गरे।
कार्यक्रममा सचिव किसन विश्वकर्मा, कोषाध्यक्ष रमेश विश्वकर्मा, सदस्य सचिन विश्वकर्मा, महिला सदस्य सरस्वती विश्वकर्मा, कृष्ण विश्वकर्मालगायतले अभियान सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। समाजले केही वर्षअघि आयोजना गरेको वृक्षारोपण कार्यक्रमले पनि समाजमा सकारात्मक सन्देश प्रवाह गरेको स्मरण गरिएको छ। कार्यक्रमा सचिव किसन सेन्चुरीले स्वागत मन्तब्य राखेका थिए ।