राहत लुटिएपछि गाजाको अवस्था थप बिग्रियो, राष्ट्रसंघको चिन्ता

न्युयोर्क — हमासले २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि सुरु भएको युद्धका कारण गाजामा गम्भीर मानवीय संकट उत्पन्न भएको संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालय (OCHA) ले जनाएको छ। निरन्तर बम आक्रमण, कुपोषण, व्यापक विस्थापन र सार्वजनिक सुरक्षाको अभावले अहिलेको अवस्था अत्यन्त संकटपूर्ण बनेको हो।

चार दिनपछि गाजामा राहत सामग्री लिएर प्रवेश गरेका पाँच वटा गाडीमध्ये अधिकांश सामग्री लुटिएको बताइएको छ। डेइर अल–बलाहस्थित अस्पतालमा पठाइएका औषधिजन्य सामग्रीहरू केही सशस्त्र समूहले लुटपाट गरेको पुष्टि गरिएको छ। यस्तै, केरम शालोम नाकाबाट गएका ६० गाडी द्वन्द्वका कारण फर्किन बाध्य भएका छन्। नाका आसपासको क्षेत्रमा हतियारधारी समूहको गतिविधि बढ्दै गएपछि राहत आपूर्ति थप कठिन बनेको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ताले जनाएका छन्।

राष्ट्रसंघका अनुसार गाजामा लगभग ८० दिनदेखि आपूर्ति पूर्णरूपमा बन्द भएकाले खाद्यान्न र स्वास्थ्य संकट चरममा पुगेको छ। सीमित रूपमा पठाइएका सामग्रीहरू २१ लाख जनसंख्याको माग पूरा गर्न असक्षम छन्। इजरायली नाकाबन्दीका कारण राहत सामग्रीको मात्रामा कडाइ गरिँदा गाजावासी भोकमरीको जोखिममा परेका छन्।

गाजामा पछिल्ला दुई सातामा झन्डै दुई लाख मानिस विस्थापित भएका छन्। इजरायली प्रशासनले लगभग ३० प्रतिशत क्षेत्र खाली गर्न आदेश दिएको छ, जसका कारण मानिसहरू खाद्यान्न र आवासको खोजीमा स्थान परिवर्तन गर्दै भौंतारिरहेका छन्। यद्यपि, आपतकालीन बासस्थल निर्माण सामग्री अपुग हुँदा अवस्था अझै जटिल बनेको छ। कमजोर सार्वजनिक सुरक्षाका कारण लुटपाटका घटनाहरू बढ्दो छन्।

राष्ट्रसंघले इजरायललाई गाजाको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दै शान्तिपूर्ण र कानुनी उपायमार्फत अपराध नियन्त्रण गर्नुपर्ने बताएको छ। साथै, राहत सामग्री गाजामा सहज रूपमा पुर्‍याउनका लागि नाकाहरू खोल्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ। सल्फित क्षेत्रमा लगाइएको आवागमन प्रतिबन्धले करिब ९० हजार स्थानीयवासीको स्वास्थ्य, शिक्षा र जीविकोपार्जनमा असर परेको छ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा परी हालसम्म ५४ हजार ३ सय २१ जनाको मृत्यु भएको छ, जसमा अधिकांश महिला, बालबालिका र सर्वसाधारण रहेका छन्। युद्धका कारण गाजाको भौतिक संरचना पूर्ण रूपमा ध्वस्त भएको छ, अस्पताल, विद्यालय, घर, सडक र जलमार्ग समेत विनाश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया