वैदेशिक मुद्रा सञ्चिति ३४ खर्ब नाघ्यो, आयात धान्ने क्षमता बलियो

काठमाडौं । नेपालको वैदेशिक मुद्रा सञ्चिति निरन्तर बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्मको तथ्यांक अनुसार कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।

डलरमा गणना गर्दा असार मसान्तमा १९ अर्ब ५० करोड अमेरिकी डलर रहेको सञ्चिति १८.३ प्रतिशतले वृद्धि भई फागुनसम्म २३ अर्ब ८ करोड डलर पुगेको छ। हालको सञ्चिति वस्तु तथा सेवा आयातका आधारमा करिब १८.५ महिनासम्म धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ भने केवल वस्तु आयातलाई आधार मान्दा २१.४ महिनासम्म पुग्ने देखिन्छ।

कुल सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको हिस्सा २५.७ प्रतिशतले बढेर ३० खर्ब ३५ अर्ब ११ करोड पुगेको छ भने अन्य बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब ७८ अर्ब ६६ करोड रुपैयाँ बराबरको सञ्चिति रहेको छ। कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा करिब २१ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई १४४९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ, जसले विदेशी मुद्रा सञ्चिति मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको देखिन्छ। यसैगरी शोधनान्तर स्थिति ६५८ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३१० अर्ब ३७ करोड रुपैयाँ मात्र थियो।

बाह्य क्षेत्रका सूचकहरूमा देखिएको यो सुधारले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने संकेत देखिएको छ।

प्रतिक्रिया