अमेरिकाले निष्कासन गरेका १० नेपाली काठमाडौँ आइपुगे

काठमाडौं - अमेरिकाबाट देश निकाला गरिएका १० नेपालीलाई लिएर आएको चार्टर्ड विमान आज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। विमानस्थल स्रोतका अनुसार अवैध रूपमा अमेरिका प्रवेश गरेका वा त्यहाँ बसोबास गर्दै आएका नेपाली नागरिकलाई फिर्ता पठाउन अमेरिकी विमान जीआरपी २३ चार्टर्ड गरी नेपाल ल्याइएको हो।

अमेरिकामा आप्रवासनसम्बन्धी कडा नीति लागू भएपछि गैरकानुनी रूपमा रहेका नेपालीहरूलाई पक्राउ गरी फिर्ता पठाउने क्रम बढ्दै गएको छ। यसै क्रममा, हाल नेपाल ल्याइएका व्यक्तिहरूलाई अध्यागमन कार्यालयमा राखेर आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने तयारी गरिएको छ। अध्यागमन अधिकारीहरूका अनुसार उनीहरूको व्यक्तिगत विवरण, अमेरिका प्रवेशको अवस्था, फिर्ती प्रक्रियाका कानुनी पक्षलगायत विषयमा अध्ययन भइरहेको छ।

यसअघि पनि अमेरिकाले अवैध रूपमा रहेका नेपालीहरूलाई चार्टर्ड विमानमार्फत फिर्ता पठाउँदै आएको छ। अध्यागमन विभागका अनुसार आगामी दिनमा समेत गैरकानुनी रूपमा विदेशमा रहेका नेपालीहरूलाई फिर्ता पठाउने सम्भावना उच्च रहेको छ।

 

प्रतिक्रिया