उद्योगीको मानमर्दन हुने गरी छापा नमार्न महासंघको माग


काठमाडौं–उद्योगी व्यवसायीको मानमर्दन हुनेगरी छापा मार्ने कार्य नगर्न उद्योग वाणिज्य महासंघले माग गरेको छ । महासंघका र राजस्व अनुसन्धान विभागबीच भएको छलफलमा यस्तो अनुरोध गरिएको हो  ।


राजस्व बृद्धिका लागि दर्ता भएका करदतालाई थप करको भार सृजना गर्नु भन्दा राजस्वको दायरा विस्तार गर्नुपर्ने माग गरेको छ । त्यसका लागि निरन्तर अध्ययन र अनुसन्धान गर्नुपर्नेमा महासंघले जोड दिएको छ । यसमा राजस्व अनुसन्धान विभागले विशेष सहयोग गर्न अनुरोध गरेको छ ।


कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छा, राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेल, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन लगायतले धारणा राखेका थिए ।
दर्ता नभई आर्थिक कारोबार गर्ने र अबैध पैठारी गर्नेहरुलाई राजस्वको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागले कार्य गर्नुपर्ने, आय कर, मूल्य अभिबृद्धिकर, अन्तःशुल्कमा दर्ता भई कारोबार गर्ने र एक्जिम कोड लिई मालवस्तु निकासी पैठारी गर्नेहरुलाई सम्बन्धित निकायले नै अनुसन्धान गर्ने व्यवस्था गर्नुपर्ने सुुझाव दिइएको थियो ।


उद्योगी व्यवसायीको मानमर्दन हुनेगरी छापा मार्ने कार्य भएकाले छापा मार्दा कारण खुलाएर मात्र छापा मार्नुपर्ने, अनुसन्धानको निष्कर्समा नपुगी सार्वजनिक गर्न नहुने, छापा हानेकै बखत उद्योगी ब्यापारीले वारेसनामा दिने व्यवस्था गर्नुपर्ने, आवश्यक कागजपत्रको प्रतिलिपी लिई व्यापारिक स्थल सिलबन्दी गरेको २४ घण्टा भित्र संचालन गर्ने वातावरण बनाउनु पर्ने सुुझाव महासंघका तर्फबाट राखिएको थियो । 
कार्यक्रममा विभागका महानिर्देशक पौडेलले करदातालाई अनावश्यक दुःख नदिने गरी र दोहोरोपना नहुने गरी राजस्व अनुसन्धान विभागले कार्य गरिरहेको बताए ।
 

प्रतिक्रिया