काठमाडौँ, २१ जेठ – सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजेका लागि बोलाइएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सो प्रस्तावमाथि आजैबाट छलफल प्रारम्भ हुने कार्यसूची तय गरिएको छ।
यस्तै, प्रतिनिधिसभामा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पनि पेश गर्ने कार्यसूची रहेको छ।
राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री पौडेलले सोही वार्षिक अनुमानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् र बैठकमा सोबारे छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।