काठमाण्डौ । साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से ८ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २५७५ विन्दुमा पुगेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से अर्धशतक भन्दा धेरैले बढेर बजार बन्द भएको थियो ।
यो सेसनमा आज ३३ कम्पनीको शेयर खरिद बिक्री भएकोमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मूल्य घटेको छ । ६६ लाख माथिको शेयर किनबेच हुँदा एक दर्जन हाराहारी कम्पनीको शेयर मूल्य २ प्रतिशत हाराहारीमा बढेको छ ।
अपि पावरको शेयर सबै भन्दा धेरै मूल्यको किनबेच हुँदा कारोबार भएका सबै उपसूचकमा हरियाली छाएको छ । बीमा र जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण देखिँदा धेरैले आज बजार हरियालीमै बन्द हुने अपेक्षा गरेका छन ।