काठमाडौं । नेपालमा जुलाई महिनामा ७१ हजार ७७५ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले बढी हो। सन् २०२५ को जुलाईमा नेपालमा ७० हजार १९३ विदेशी पर्यटक आएका थिए।
पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। यस अवधिमा भारतबाट २३ हजार ४९० जना पर्यटक नेपाल आएका छन्, जुन कुल विदेशी पर्यटक आगमनको ३२.७३ प्रतिशत हो।
चीनबाट आउने पर्यटकको संख्या भने उल्लेखनीय रूपमा बढेको छ। जुलाईमा चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको जुलाईको तुलनामा ६१.०९ प्रतिशत अर्थात् ६ हजार ८९० जनाले बढी हो। सन् २०१९ को जुलाईमा चीनबाट १० हजार २१५ जना पर्यटक नेपाल आएका थिए। यससँगै चिनियाँ पर्यटक आगमन कोभिड–१९ महामारीअघिको स्तरभन्दा ८.६५ प्रतिशत माथि पुगेको बोर्डले जनाएको छ।
जुलाईमा अमेरिकाबाट ७ हजार ७५४ जना पर्यटक नेपाल आएका छन्। त्यसपछि बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ तथा अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्।
क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्या सबैभन्दा बढी रहेको छ। जुलाईमा सार्क राष्ट्रबाट २९ हजार ७५५ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ४१.४६ प्रतिशत हो। यद्यपि, यो संख्या अघिल्लो वर्षको तुलनामा ११.९३ प्रतिशतले कम हो।
सार्क मुलुकमध्ये भुटानबाट ९९१, पाकिस्तानबाट ४७५, श्रीलंकाबाट ५८१ तथा माल्दिभ्सबाट ३९ जना पर्यटक नेपाल आएका छन्। पाकिस्तानबाट आउने पर्यटकको संख्या भने अघिल्लो वर्षको तुलनामा ३.९४ प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ।
दक्षिण एसियाबाहेकका अन्य एसियाली मुलुकबाट जुलाईमा १७ हजार ४२४ जना पर्यटक नेपाल आएका छन्। यो कुल आगमनको २४.२८ प्रतिशत हो। अघिल्लो वर्षको तुलनामा यस क्षेत्रमा ३३.०५ प्रतिशतको वृद्धि देखिएको छ। चीनपछि दक्षिण कोरियाबाट १ हजार ३९४, मलेसियाबाट १ हजार ३८०, जापानबाट १ हजार १११, भियतनामबाट ५७४, सिंगापुर र म्यानमारबाट समान ४३७ तथा थाइल्यान्डबाट ४२८ जना पर्यटक नेपाल आएका छन्।
युरोपबाट जुलाईमा ९ हजार २७९ जना पर्यटक नेपाल आएका छन्, जसले कुल आगमनमा १२.९३ प्रतिशत हिस्सा ओगटेको छ। बेलायत, जर्मनी, स्पेन, फ्रान्स, नेदरल्यान्ड्स, पोर्चुगल र रूस युरोपका प्रमुख स्रोत बजारका रूपमा रहेका छन्।
त्यस्तै, अमेरिकी महादेशबाट ८ हजार ८२४, ओसियानियाबाट २ हजार ६०७, मध्यपूर्वबाट ७३६ तथा अफ्रिकी मुलुकबाट ३२४ जना पर्यटकले जुलाई महिनामा नेपाल भ्रमण गरेका छन्।
पर्यटन बोर्डका अनुसार भारतीय र चिनियाँ बजारमा देखिएको वृद्धि तथा अन्य प्रमुख अन्तर्राष्ट्रिय बजारबाट निरन्तर पर्यटक आगमनले नेपालको पर्यटन क्षेत्र पुनः सुदृढ बन्दै गएको संकेत गरेको छ।