महिला क्रिकेट टिम पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा

काठमाडौँ — थाइल्यान्डमा जारी आईसीसी महिला टी–२० विश्वकपको एसियाली छनोटको सुपर–३ चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ। सोमबार सम्पन्न खेलमा युएईले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन बनाएको थियो। जवाफमा नेपालले १९.३ ओभरमै लक्ष्य पूरा गर्‍यो।

नेपालको जितमा कप्तान इन्दु वर्माले ३० रनको अविजित योगदान दिइन्। उनले २८ बलमा दुई चौका प्रहार गरिन्। रुविना क्षेत्रीले १८ बलमा तीन चौका सहित २३ रन बनाउँदै जितमा टेवा पुर्‍याइन्। ओपनर सम्झना खड्काले २१ रन बनाइन् भने पूजा महतोले १३ रन थपिन्। अन्य खेलाडीहरू राजमती ऐरी (८), कविता कुँवर (५) र रुवी पोद्दार (६ अविजित) रनमा सीमित भए। नेपालले अतिरिक्त रूपमा नौ रन पाएको थियो।

बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले चार ओभरमा २० रन खर्चिएर चार विकेट लिइन्। कविता कुँवरले दुई तथा राजमती ऐरीले एक विकेट हात पारिन्। युएईका ओपनर एसा ओजाले ३९ बलमा ३९ रन बनाउँदै एक छक्का र दुई चौका हानेकी थिइन् भने थिरथा सतिशले २१ रन जोडिन्। अन्य खेलाडीहरू लावन्या केनी (१२), हिना होचन्दानी (२०), उडेनी डोना (६ अविजित) र केजिहाय मारियम (५) रनमा आउट भए।

यो सुपर–३ चरणको दोस्रो खेल हो। यसअघि आइतबार थाइल्यान्डले युएईलाई ५४ रनले हराएको थियो। नेपाल समूह ‘सी’ को विजेता बन्दै सुपर–३ मा पुगेको हो भने युएई समूह ‘बी’ र थाइल्यान्ड समूह ‘ए’ को विजेता बन्दै अघि बढेका थिए।

सुपर–३ चरणमा तीन टोलीले एक–अर्कासँग एक–एक खेल खेल्ने छन्। यस चरणको अन्त्यमा अंक तालिकाको शीर्ष दुई टोलीले महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।

१० टोली सहभागि रहने उक्त छनोट प्रतियोगितामा हालसम्म बङ्गलादेश, स्कटल्यान्ड र अमेरिका छनोट भइसकेका छन्। बाँकी सात स्थानका लागि एसिया, युरोप, अफ्रिका र पूर्वी एसिया–प्यासिफिक क्षेत्रबाट टोली छनोट हुनेछन्। छनोट प्रतियोगिताबाट शीर्ष चार टोलीले सन् २०२६ मा हुने महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया