नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनअघि नै राजनीतिक दलहरू र नागरिक शक्तिबीच न्यूनतम राष्ट्रिय समझदारी आवश्यक रहेको बताएका छन्। जेनजी मुभमेन्टसँग आबद्ध युवाहरू तथा नागरिक समूहसँग भइरहेका छलफलका अनुभव सार्वजनिक गर्दै उनले इतिहासले पनि चुनावअघि सहमतिको आवश्यकता पुष्टि गरिसकेको बताए।
थापाका अनुसार २०६२/६३ सालको जनआन्दोलनअघि पनि नेपाल यस्तै राजनीतिक परिस्थिति हुँदै गुज्रिएको थियो। त्यतिबेला सडक आन्दोलन भइरहे पनि अन्ततः राजनीतिक दलबीच बनेको सहमतिका आधारमा संसद पुनःस्थापना भएको स्मरण गराउँदै उनले पुनःस्थापित संसदको पहिलो घोषणाले नेपाललाई लोकतान्त्रिक यात्रातर्फ मोडेको बताए।
उनका अनुसार सो घोषणाले लोकतन्त्रलाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । समानुपातिक प्रतिनिधित्व, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक चरित्रलाई राज्य संरचनामा समेट्ने लक्ष्य नै त्यस घोषणाको मूल भाव रह्यो। यही प्रक्रिया हुँदै अन्तरिम संविधान र वर्तमान संविधानसम्म प्रगतिशील विषयहरू समेटिन पुगेको उनले बताए।
थापाले वर्तमान अवस्थामा पनि पार्टीगत सीमाभन्दा माथि उठेर सोच्न सक्ने नागरिक अगुवा र सचेत व्यक्तिहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे। पुरानो पुस्तासँगै नयाँ पुस्ताका युवाहरू पनि राष्ट्रिय संवाद प्रक्रियामा जोडिनुपर्ने धारणा उनले राखे।
उनका अनुसार राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि साझा राष्ट्रिय एजेन्डामा सहमति आवश्यक छ। सुशासन, भ्रष्टाचार नियन्त्रण, संविधान संशोधन, निर्वाचन प्रणाली सुधार र संस्थागत सुधारजस्ता विषयमा दल र नागरिकबीच सहमति हुनुपर्ने उनको भनाइ छ।
थापाले विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई एउटै प्लेटफर्ममा ल्याएर राउन्ड टेबल संवाद सुरु गर्ने र राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। जेनजी मुभमेन्टसँग आबद्ध युवाहरूसँग पनि यही उद्देश्यका साथ संवादको आह्वान गरिएको उनले बताए।
अन्त्यमा थापाले सबैलाई अंग्रेजी नयाँ वर्षको शुभकामना दिँदै स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि सबैले आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे।