हुस्सु–कुहिरोले तराईको जनजीवन र हवाई सेवा प्रभावित

रुपन्देही । बुधबार बिहानैदेखि पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु र कुहिरो लागेपछि जनजीवन प्रभावित भएको छ भने केही जिल्लामा हवाई सेवा अवरुद्ध बनेको छ।

हुस्सु–कुहिरोका कारण भैरहवा, नेपालगञ्ज र धनगढी क्षेत्रमा दृष्यता कमजोर हुँदा हवाई उडानमा समस्या आएको हो। दृष्यताको हिसाबले सबैभन्दा बढी भैरहवा प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार बुधबार बिहान भैरहवामा भिजिबिलिटी एक सय मिटरमा सीमित छ।

यस्तै कैलालीको धनगढी र धनुषाको जनकपुरमा पाँच सय मिटर, मोरङको विराटनगरमा एक हजार मिटर, बाँकेको नेपालगञ्जमा एक हजार दुई सय मिटर र काठमाडौंमा छ हजार मिटरसम्म भिजिबिलिटी मापन गरिएको छ।

दिउँसोतिर हुस्सु र कुहिरो क्रमशः घट्दै जाने मौसमविद् महर्जनले बताइन्। मौसमविद्हरूका अनुसार दृष्यता एक किलोमिटरभन्दा बढी भएमा हुस्सु र एक किलोमिटरभन्दा कम भएमा कुहिरो भनिन्छ। कुहिरो हुस्सुभन्दा बाक्लो हुने भएकाले यसले घामका किरण छेक्ने र जमिन तात्न समय लाग्ने हुँदा जाडो बढी महसुस हुने गर्छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार बिहानैदेखि हुस्सु बाक्लो भएपछि कुनै पनि विमानको आवतजावत हुन सकेको छैन। हिजो बिहान केही सुधार देखिए पनि आज भने १० बजेसम्म भिजिबिलिटी दुई सय मिटरमै सीमित रहेकाले सबै उडान प्रभावित बनेको उनले बताए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय